नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना



जनकपुरधाम, असोज २८ । बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज नवदुर्गामध्ये चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

आश्विन शुक्ल चतुर्थीका दिन दसैँघर तथा पूजा कोठामा कुष्माण्डा देवीको पूजा गर्ने धार्मिक परम्परा छ। धार्मिक मान्यताअनुसार देवी कुष्माण्डाले भक्तजनका दुःख, कष्ट तथा तीन प्रकारका तापबाट मुक्ति प्रदान गर्छिन्।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखिएसँगै शैलपुत्री, ब्रह्मचारिणी र चन्द्रघण्टा देवीको पूजा सम्पन्न भइसकेको छ। चौथो दिन कुष्माण्डाको पूजा गरिन्छ भने पाँचौँ दिन स्कन्दमाता देवीको आराधना गरिने शास्त्रीय परम्परा छ।

नवरात्रका नौ दिन दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने चलन छ। देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

यस अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ। मधेश प्रदेशका गढीमाई, छिन्नमस्ता, गहवामाईलगायत प्रसिद्ध शक्तिपीठमा पनि नवरात्रका अवसरमा भक्तजनले पूजा आराधना तथा दर्शन गर्ने गर्छन्।

नवरात्रको नवौँ दिनसम्म नौवटै दुर्गाको पूजा गरेपछि दसैँको मुख्य दिन विजयादशमीमा टीका र जमरा लगाउने परम्परा छ। नेपालीले विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म बडादसैँ मनाउँछन्।

प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार ०८:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको