उदयपुरमा ‘सानो दारे’ नामको जंगली हात्ती मृत फेला



उदयपुर, असोज २८ । उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा मंगलबार करिब २०–२५ वर्षको भाले जंगली हात्ती मृत फेला परेको छ।

डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठका अनुसार ‘सानो दारे’ नामले चिनिने उक्त हात्ती कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर टाढा मृत अवस्थामा भेटिएको हो।

हात्ती एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो। प्रारम्भिक अनुमानअनुसार हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुन सक्ने श्रेष्ठले बताए।

हात्तीको मृत्युको वास्तविक कारण पत्ता लगाउन कोशीटप्पु वन्यजन्तु आरक्षले पोस्टमार्टम गर्ने जनाएको छ। परीक्षणपछि मात्रै मृत्युको कारण यकिन हुने वन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार ०८:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको