सप्तरीको कदमहा–पटेर्वा सडक कालोपत्र अन्तिम चरणमा, स्थानीयलाई आवागमन सहज



सप्तरी मंसरि ५ । सप्तरीको सुरुङ्गा नगरपालिका–७ कदमहादेखि चकदह र प्रमाणपुर हुँदै वडा नम्बर १० को पटेर्वा चोकसम्म जोड्ने ग्रामीण सडक कालोपत्रको काम तीव्र गतिमा अघि बढेको छ। लामो समयदेखि रोकिएको निर्माण कार्यले पुनः गति लिएसँगै स्थानीयवासीमा उत्साह थपिएको छ।

८ किलोमिटर ५०० मिटर लामो सडकखण्डमध्ये हालसम्म करिब ६ किलोमिटर कालोपत्र भइसकेको छ। निर्माण कम्पनीका अनुसार सडकको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ भने बाँकी काम यसै साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

२७ करोड ८ लाख १६ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको सडकमा कालोपत्रसँगै नाला तथा अन्य संरचना निर्माणको काम पनि भइरहेको छ। सडक निर्माणमा बजेट सुनिश्चित नहुँदा ढिलाइ भएको निर्माण व्यवसायीले बताएका छन्। अहिले थपिएको समयभित्र काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ।

सडक स्तरोन्नतिपछि कदमहा, चकदह, प्रमाणपुर, पटेर्वालगायत क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज भएको छ। विशेषगरी किसानलाई तरकारी तथा दलहन बाली लहान बजारसम्म पुर्‍याउन सजिलो भएको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार सडक सञ्चालनमा आएपछि गाउँसम्म अटोरिक्सा र विद्यालयका बससमेत पुग्न थालेका छन्। यसले यातायात सुविधासँगै स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। बलान नदी किनार हुँदै निर्माण भइरहेको सडकले आवागमन सहज बनाउनुका साथै नदी कटान र डुबानको समस्याबाट समेत राहत पुग्ने स्थानीयले आशा गरेका छन्।

प्रकाशित मिति: २०८३ मंसिर ५, शनिवार १४:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको