जनकपुरधाम, मंसिर ६ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज बिहान १० बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले यादवलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादव संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् ।
यादवले दोस्रो पटक मधेश प्रदेश सरकारको नेतृत्व सम्हाल्न लागेका हुन् । यसअघि पनि उनी मधेश प्रदेशको मुख्यमन्त्री भइसकेका छन् ।
मुख्यमन्त्री नियुक्त भएपछि यादवले सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् ।



