जनकपुरधाम, मंसिर ७ । हुंकार मधेशले सनातन संस्कृति, मौलिक ज्ञान प्रणाली र पूर्वीय दर्शन तथा सभ्यताको प्रवर्द्धन गर्ने उद्देश्यसहित मेची-महाकाली ‘हुंकार हुलाकी यात्रा’ सञ्चालन गर्ने भएको छ।
हुंकार मधेश अभियानले २०८३ मंसिरदेखि तीन चरणमा यात्रा सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो। अभियानका केन्द्रीय प्रवक्ता केशवकुमारद्वारा जारी प्रेस विज्ञप्तिअनुसार यात्राका क्रममा देशका विभिन्न जिल्ला पुगेर राजनीतिक, सामाजिक, सांस्कृतिक तथा वैचारिक विषयमा संवाद र अन्तरक्रिया गरिनेछ।
यात्राको मुख्य उद्देश्य पछिल्लो समय राजनीतिप्रति जनतामा उत्पन्न निराशाको अन्त्यका उपाय खोज्नु, मौलिक ज्ञान प्रणालीबारे चर्चा गर्नु तथा पूर्वीय दर्शन र सभ्यताको संरक्षण र प्रवर्द्धन गर्नु रहेको छ।
त्यस्तै, संघीय लोकतान्त्रिक हिन्दु गणराज्यको अवधारणा, नेपालको मूल राजनीतिक अन्तर्द्वन्द्वको समाधान, राजनीतिक दल र नेताहरूको भूमिका तथा समाजमा विद्यमान विभिन्न समस्याको समाधानका उपायबारे पनि बहस गरिने कार्यक्रम तय गरिएको छ।
अभियानले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट हुनुपर्ने विषयमा जनमत निर्माण गर्ने लक्ष्यसमेत राखेको छ। यसका साथै सनातन संस्कृति र परम्पराको महत्त्वबारे गहन छलफल तथा जनस्तरमा संवाद सञ्चालन गरिने जनाइएको छ।
तीन चरणमा यात्रा कार्यक्रम
हुंकार मधेशले सार्वजनिक गरेको कार्यतालिकाअनुसार पहिलो चरणमा मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सासहित मकवानपुरसम्म यात्रा गरिनेछ।
पहिलो चरणअन्तर्गत मंसिर ७ गते समीक्षा बैठक, मंसिर ९ गते प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम र मंसिर १० देखि १५ गतेसम्म सप्तरीको यात्रा तय गरिएको छ। त्यसपछि सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा हुँदै मकवानपुरसम्म पुग्ने कार्यतालिका छ।
दोस्रो चरणमा चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्म यात्रा गरिनेछ। यस चरणको समीक्षा बैठक पुस १० गते राखिएको छ।
तेस्रो चरणमा लहानमा श्रद्धाञ्जली अर्पण गर्दै झापा, मोरङ, सुनसरी, उदयपुर र काठमाडौं उपत्यकासम्म यात्रा सञ्चालन गरिने कार्यक्रम छ। तेस्रो चरणको समीक्षा बैठक माघ १७ गते हुनेछ। उक्त बैठक हुंकार मधेशको सम्मेलनको तयारीसँग सम्बन्धित रहने विज्ञप्तिमा उल्लेख छ।
मेचीदेखि महाकालीसम्म सञ्चालन हुने यस यात्रामार्फत राजनीतिक निराशा, राष्ट्रिय पहिचान, सनातन संस्कृति, सामाजिक न्याय, सुशासन र समृद्धिका विषयमा जनस्तरमा बहस विस्तार गर्ने अभियानको योजना रहेको छ।



