संजीवकुमार झा
जनकपुरधाम । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा मधेशका दुई दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) एक्लै निर्वाचन निकाल्ने अवस्थामा रहेका छैनन् । दुवै दलले विभिन्न दल संग गठबन्धन बनाएर यस पटकको निर्वाचनमा भाग लिएका छन् ।
हुनत निर्वाचन आयोगले कात्तिक १७ पछिनै चुनावी प्रचार प्रसार गरिए पनि क्षेत्रमा कार्यकर्ता भेटघाटमा रहेका उम्मेदवारहरु मध्यये लोसपाका उम्मेदवारहरु गठबन्धनमाथि निर्भर देखिएका छन् भने जसपाका उम्मेदवारहरु एमालेको सहारामा क्षेत्रमा घुमघाम गर्दै छन् । मधेश प्रदेशका ती क्षेत्रहरु जहाँवाट मधेशवादी दलका हैवी वेटका नेताहरु चुनावमा उम्मेदवारी दिएका छन् त्यो क्षेत्रहरु खासमा चर्चाको विषय बनेको छ ।
सप्तरीका निर्वाचन क्षेत्र नम्वर १ र २, सिरहाका ४, धनुषाका ३, महोत्तरीका २,३र४, सर्लाहीका २ र पर्साका निर्वाचन क्षेत्र नम्वर १ मा मधेशवादी दलका हैवी वेट नेताहरु चुनावी मैदानमा छन् । सप्तरीका निर्वाचन क्षेत्र नम्वर १ मा मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह यस पटक प्रतिनिधिसभा निर्वाचनमा उठेका छन् भने सप्तरी २ वाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् । त्यस्तै सिरहा ४ वाट गत प्रतिनिधिसभाको निर्वाचनमा सिरहा २ वाट विजयी भएका जसपा नेता राजकिशोर यादव उम्मेदवार छन् भने धनुषा ३ वाट लोसपा नेता अनिल झा चुनावी मैदानमा छन् ।
महोत्तरीका ३ वटा निर्वाचन क्षेत्रवाट ३ मधेशी नेता उम्मेदवार बनेका छन् । २ मा लोसपा नेता शरत सिंह भण्डारी, ३ वाट लोसपा अध्यक्ष महन्थ ठाकुर र ४ वाट जसपा नेता सुरेन्द्र यादव चुनावी मैदानमा छन् ।

त्यस्तै सर्लाही निर्वाचन क्षेत्र नम्वर २ मा पाँच दलीय गठबन्धनका दुई हैवी वेट नेता एक अर्का संग प्रतिस्पर्धा गर्दै छन् । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र जसवावाट नेपाल समाजवादी पार्टी (नेसपा) गएका महेन्द्र यादव चुनावी मैदानमा छन् ।
पर्सा निर्वाचन क्षेत्र नम्वर १ मा पाँच दलीय गठबन्धनवाट लक्ष्मणलाल कर्ण र जसपाका नेता प्रदीप यादव चुनावी मैदानमा छन् । त्यहाँ पाँच दलीय गठबन्धनका एक घटक नेपाली कांग्रेसका प्रभावशाली नेता अजय द्विवेदी बागी उम्मेदवार बनेका छन् ।
तर, अध्यक्ष देखी लिएर नेताहरु सम्म गठबन्धनकै सहारा लिएका छन् । सप्तरीमा उपेन्द्र यादवलाई यस पटकको जित सहज हुने छाटकाट नदेखिएपनि एमालेको मतदातामाथि उनी निर्भर देखिएको छ । त्यस्तै नवलकिशोर साहको अवस्था पनि एमालेकै मतदातामा निर्भर भएको छ । हुनत यो क्षेत्रमा जसपाको राम्रो संगठन रहेको मानिएको छ तर, पाँच दलीय गठबन्धनका मतदाताहरुले इमान्दारी पूर्वक मतदान गर्यो भने यि दुवै उम्मेदवारको विजयी हुने वाटो बन्द हुने देखिन्छ ।
त्यस्तै सिरहा निर्वाचन क्षेत्र नमवर ४ मा जसपा नेता राजकिशोर साहको अवस्था पनि एमालेकै मतदातामा निर्भर रहेको देखिएको छ । उनी गत प्रतिनिधिसभाको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्वर २ वाट विजयी भएका थिए तर, यस पटक सिरहा २ वाट उपेन्द्र महतोका भाई वीरैन्द्र महतोलाई उम्मेदवार बनाएका कारण उनलाई सिरहाको ४ मा पठाइएको छ । उनी संग जसपाकै नेता कार्यकर्ताहरु असन्तुष्ट छन् । सिरहा २ वाट उनका भाईले स्वतन्त्र उम्मेदवारी दिएका छन् । तर, त्यसको प्रभाव सिरहा ४ मा नपर्ने जानकारहरु बताउँछन् तर उनलाई एमाले मतदाताहरुले मतदान गरेन भने उनको जित पनि कठिन हुने देखिएको उनीहरु बताउँछन् ।
धनुषामा मधेशवादी दलका एक हैवी वेट नेताले उम्मेदवारी दिएका छन् । धनुषा निर्वाचन क्षेत्र नम्वर ३ वाट पाँच दलीय गठबन्धनले लोसपाका नेता अनिल झालाई उम्मेदवार बनाएका छन् । यस क्षेत्रवाट गत प्रतिनिधिसभाको निर्वाचनमा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाली कांग्रेसका तत्कालिन उप–सभापति विमलेन्द्र निधिलाई पराजित गरेका थिए । तर, यस पटक नेकपा एमालेले नेतृ जुली महतोलाई उम्मेदवार बनाएपछि राजेन्द्रले यो क्षेत्र छाडेर सर्लाही फर्केका छन् । लोसपा नेता नेपाली कांग्रेसको मतदातामाथि निर्भर छन् ।
यो क्षेत्रमा पाँच दलीय गठबन्धनमा आवद्ध माओवादी केन्द्र, नेकपा एसको त्यति राम्रो संगठन मानिदैन् तर यो क्षेत्र कांग्रेस र नेकपा एमाले बाहुल्यत मानिन्छ । यो क्षेत्रवाट राजेन्द्र जितेपनि नेकपा एमालेले पूर्ण रुपमा समर्थन गरेपछि उनी जितेको राजनीतिक विश्लेषकहरु बताउँछन् । सोमबार जनकपुरधाम पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई अनिल झाले स्वागत गर्न विमान स्थलनै पुगेका थिए । जानकारहरुका अनुसार झाले उम्मेदवारी दर्ता गराउनु पूर्वनै निधि संग छलफल गरेरनै उम्मेदवारी दिएका छन् ।
कुटनीतिज्ञहरुका अनुसार गठबन्धनका प्रभावशाली नेतालाई स्वागत गर्नु लोसपा नेताको दायित्व थियो । निधिले इमान्दारी पूर्वक झालाई सहयोग गरे उनी जित्न सक्ने सम्भावना रहेको तर, जनकपुरधामको बजार क्षेत्रको मुडले उनको जित हार निश्चित गर्ने उनीहरु बताउँछन् । किनभने यस क्षेत्रमा नेकपा नेतृ महतो यस क्षेत्रमा अहिले सम्म बलियो अवस्थामा देखिएको छ ।
महोत्तरी निर्वाचन क्षेत्र नम्वर २ मा कांग्रेसले उम्मेदवार दिएका छैनन्, तीनमा जसपाका नेता हरिनारायण यादव एमालेको मतदातामा निर्भर छ, लोसपाका नेता महन्थ ठाकुर कांग्रेसी मतदातामाथि निर्भर रहेको देखिएको छ तर, माओवादी केन्द्रका बागी उम्मेदवार पनि छन् यहाँ । माओवादीका बागी उम्मेदवार रामअधार कापडको उम्मेदवारी ठाकुरलाई नोक्सान गर्ने देखिएको छ ।
त्यस्तै सर्लाही निर्वाचन क्षेत्र नम्वर २ मा पनि रोचक निर्वाचन हुने देखिन्छ । यस क्षेत्रमा गठबन्धन आवद्ध दुई दल लोसपा र माओवादी केन्द्रका चुनाव चिन्ह् लिएर चुनावी मैदानमा ओर्लेका महेन्द्र यादव बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । महतो पनि कांग्रेसको मतदातामा निर्भर रहेको छ ।
त्यस्तै पर्सा निर्वाचन क्षेत्र नम्वर १ वाट पाँच दलीय गठबन्धनका उम्मेदवार लक्ष्मणलाल कर्ण, जसपा–लोसपाका नेता प्रदीप यादव र कांग्रेसका बागी उम्मेदवार अजय द्विवेदी मैदानमा छन् तर यहाँ अजयले कर्णलाई नोक्सान गर्ने देखिन्छ ।







