
कात्तिक २३ । काठमाण्डौ – बाग्मती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेपछि बाग्मती प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भएको विषयमा आयोगले मुख्यमन्त्री र प्रमुख सचिवलाई स्पष्टीकरण सोधेको हो ।
आयोगले पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्देशनसमेत दिएको छ ।



प्रदेश सरकारले गएको असोज ३० गते ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गरेको थियो । यो निर्वाचन आचारसंहिता २०७९ को दफा ५ को खण्ड ९ख० को प्रतिकूल रहेको देखिन्छ । आयोगले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई यी अध्यादेश राजपत्रमा प्रकाशित नगर्नसमेत निर्देशन दिएको छ ।