विश्वकपमा साउदी अरेबियाको ऐतिहासिक जित, अर्जेन्टिना स्तब्ध



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत मंगलबार भएको समूह ‘सी’ को खेलमा कतारको छिमेकी साउदी अरेबियाले दुई पटकको च्याम्पियन अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेको छ ।

साउदीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै अर्जेन्टिनामाथि शानदार जितसहित विश्वकप सुरु गरेको हो । उपाधिको मुख्य दाबेदार रहेको अर्जेन्टिनाले भने पहिलो खेलमै पराजय भोग्नुप¥यो । यस हारपछि अर्जेन्टिनाले लगातार ३६ खेलको अपराजित यात्रा पनि टुंगिएको छ ।
यसअघि अर्जेन्टिनासँग चार खेल खेल्दा एक खेल पनि जित्न नसकेको साउदी अरेबियाले अर्जेन्टिनालाई पहिलो पटक पराजित गरेको हो ।



सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग सेमिफाइनलमा पराजित भएयता ३६ खेलमा अपराजित अर्जेन्टिना उच्च लयका साथ कतार पुगेको थियो । विश्वकपअघि अभ्यास खेलमा युएईलाई ५–० ले पराजित गरेको थियो । तर मुख्य प्रतियोगितामा भने अर्जेन्टिना पहिलो खेलमै पराजित भयो ।

लुसेल आइकोनिक स्टेडियममा लिओनल मेसीको पेनाल्टी गोलमा अर्जेन्टिनाले पहिले अग्रता लिएको थियो । साउदीका साउद अब्दुलहामिदले लिएन्ड्रो परेडेसलाई फउल गरेपछि भिएआरको सहयोगमा अर्जेन्टिनाले पेनाल्टी प्राप्त गरेको थियो, जसमा कप्तान मेसीले सहजै गोल गर्दै अग्रता दिलाए ।

उक्त गोलसँगै मेसी चार विश्वकपमा गोल गर्ने पहिलो अर्जेन्टिनी खेलाडी बने । उनले यसअघि २००६, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए भने २०१० मा गोल गर्न सकेनन् ।

त्यसपछि अर्जेन्टिनाले गरेको तीन गोल अफसाइड भएको थियो । २८औं मिनेटमा लाउटारो मार्टिनेजले गरेको गोल भिएआरले अफसाइड देखाएपछि अर्जेन्टिना अग्रता दोब्बर बनाउनबाट बन्चित भयो ।

४९औं मिनेटमा सालेह अल शेहरीले साउदी अरेबियाका लागि बराबरी गोल फर्काए । बराबरी गरेपछि कन्फिडेन्ट देखिएको साउदीका लागि सालेम अल दावसारीले अर्को गोल गर्दै २–१ को अग्रता दिलाए ।

त्यसपछि अर्जेन्टिनाले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन । अर्जेन्टिनाका केही प्रहारलाई साउदी गोलकिपर मोहम्मेद खालिल अल ओवाइसले बचाए । इन्जुरी टाइममा साउदी अरेबियाका अब्दुलेलाह अल अमरीले गोल लाइनबाट बल क्लियर गरेका थिए ।

उपाधि दाबेदार अर्जेन्टिनाले पहिलो खेलमा पराजित भएपछि अब नकआउट चरण पुग्न बाँकी दुई खेल जित्नैपर्ने दबाब बढेको छ । अर्जेन्टिनाले अब मेक्सिको र पोल्याण्डसँग खेल्नेछ ।

प्रकाशित मिति: २०७९ मंसिर ६, मंगलवार १८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको