जनकपुरधाम, फागुन २३ । नेकपा एमाले सक्रिय राजनीतिमा फर्किने सोचका साथ गतिविधि तीब्र पारेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मोरंग बाटै राजनीतिक धक्का दिन शुरु गरेकी छिन ।
नेकपा एमाले मोरङ जिल्ला समितिको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवारलाई पराजित गर्दै पूर्वराष्ट्रपति भण्डारी पक्षधर प्यानल नै निर्वाचित भएको छ ।
जिल्लाको नेतृत्वको लागि पूर्वराष्ट्रपति भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरू प्यानल बनाएरै मैदानमा उत्रिएका थिए ।
पूर्वराष्ट्रपति भण्डारी पक्ष प्यानलको नेतृत्व विनोद ढकालले गरेका थिए भने ओली समूहको नेतृत्व उपाध्यक्ष गुरु बरालले गरेका थिए ।
भण्डारी समूहबाट अध्यक्षका लागि अजम्बर राई र ओली समूहबाट राजकुमार ओझा अध्यक्षका उम्मेदवार थिए ।
अध्यक्षमा राईसहित भण्डारी पक्षका नेताहरूको प्यानल नै निर्वाचित भएको हो ।
राईले ४ सय ४६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ओझाले ४ सय ७ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा सागर थापा ४ सय २२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शान्ति लिम्बू भूजेलले ३ सय ९१ मत प्राप्त गरिन् । थापा भण्डारी पक्षको प्यानलमा थिए भने भूजेल ओली पक्षीय प्यानमा थिइन् ।
सचिवमा सोमराज थापा निर्वाचित भएका छन् । उनले ४ सय ६२ मत प्राप्त गर्दा प्रतिस्पर्धी रविन थापाले ३ सय ६८ मत प्राप्त गरिन् ।
उपसचिवमा सन्तोष वान्तवा र उषा झा निर्वाचित भएका छन् । वान्तवाले ४ सय ९० र झाले ४ सय १८ मत प्राप्त गरिन् ।
राजनीतिक गतिविधिलाई तीब्र बनाएकी पूर्व राष्ट्रपति भण्डारीले एक महिना अघि मोरंगमा एक साता बसेर नेता कार्यकर्ताहरु भेटघाट गरेकी थिइन । आफनो पक्षधर सहित संस्थापन पक्षको चेपुवामा परेका नेताहरु लाई प्राथमिकतामा राखी भण्डारीले राजनीतिक भेटघाट गरेकी थिइन । गण्डकी प्रदेशमा समेत राजनीतिक भेटघाटलाई प्राथमिकतामा राखेकी भण्डारी केही दिन पछि मधेशको भ्रमण गर्न लागेकी छिन ।
एमाले अध्यक्ष ओलीको इच्छा विपरित भण्डारी राजनीतिक गतिविधिलाई तीब्रता दिएको एमाले निकट स्रोतको दावी छ । मदन भण्डारी फाउन्डेशनको व्यानरमा उनले राजनीतिक गतिविधि बढाउन थालेकी हुन ।



