ओम प्रकाश यादव
रौतहट, फागुन २४ । आफुलाई प्रहरीको घुमुवा बताउने एक जना नक्कली घुमुवालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । घुमुवा प्रहरी हुँ भन्दै सर्वसाधारण व्यक्तिसंग रकम असुली गरेको आरोपमा प्रहरी चौकी विर्ताले एकजना व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गरुडा नगरपालिका –८ विर्ता चोकका शेख मनिफको ४४ वर्षिय छोरा शेख सदरे आलम रहेका छन् । आफु प्रहरीको घुमुवा हुँ भन्दै आलमले स्थानीय व्यापारी र किसानहरुसंग पैसा असुली गर्दै आएका थिए । आलमले घुमुवा प्रहरी भन्दै पैसा असुल्ने गरेको भन्दै स्थानीयहरुले प्रहरी चौकी विर्तालाई खबर गरेपछि उनी पक्राउ परेका हुन ।
आफु जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको घुमुवा प्रहरी हुँ भन्दै स्थानीय मलखाद्य किसानहरुलाई रोकी डरत्रास देखाई पैसा असुली गर्ने गरेको सूचनाको आधारमा आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले जानकारी दिएका छन् ।
पक्राउ परेका आलम इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको छ । उनलाई प्रहरी हिरास्तमा राखेर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख छ ।






