वडा अध्यक्षको घर र गोठ खरानी, ११ वटा चौपाया जलेर मरे



राजविराज, फागुन २५ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ का वडा अध्यक्ष शत्रुधन मण्डलको घर तथा गोठमा शनिबार राती आगलागि भएको छ ।

राती ९ बजेतिर अचानक भएको आगलागिले मण्डलको एउटा घर पूर्णरुपले खरानी भएको छ भने गोठमा रहेको ११ वटा चौँपाया समेत जलेर मरेका छन् । प्रहरीका अनुसार आगलागिबाट मण्डलको टिनको छानो भएको एउटा घर, फर्निचर, लत्ताकपडा, खाद्यान्न, टिभि र केही कागजातहरु जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

यस्तै सोही घरसँगै टाँसिएको उनको गोठमा रहेको सात वटा बाख्रा, दुई वटा खसी, एक÷एक भैसि र पारा पनि जलेर मरेका छन् । प्रहरी निरिक्षक सुरेन्द्र नेपालीले कारण खुल्न नसकेको आगलागिबाट ८ लाख ७८ हजार रुँपैया बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।

स्थानीयवासी र प्रहरीको सहयोगमा एक घण्टाको प्रयास पश्चात् आगोमाथी नियन्त्रण कायम गरिएको उनले जानकारी दिएका छन् ।

यता वडाअध्यक्ष मण्डलले आफ्नो घर र गोठमा कसैले आगजनी गरेको हुन सक्ने आशंका व्यक्त गर्दै त्यसको सुक्ष्म अनुसन्धान गर्न माग गरेका छन् । “न त विद्युत सर्ट भएको छ, न त घर र गोठमा प्रज्ववलनशिल बस्तु बालिएको थियो, वडा अध्यक्ष मण्डलले भने–झ्याल खुल्ला राखिएकाले कसैले सोही झ्यालबाट प्रज्ववलनशिल बस्तु फ्यालेर आगजनी गरेको हाम्रो आशंका छ ।”

उनले उक्त घटनाको छानबिन गर्न माग समेत गरेका छन् ।

प्रकाशित मिति: २०८१ फाल्गुन २५, आइतवार १४:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको