जनकपुरधाम, फागुन २५ । केही दिनयता राजावादीहरू सलबलाउन थालेपछि प्रमुख दलका शीर्ष नेताहरू सशंकित भएका छन्।
नेकपा माओवादी केन्द्रले त त्यसैलाई कारण देखाउँदै जारी ‘जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान’समेत अचानक रोकेको छ।
फागुन १२ गते झापाको कचनकवलबाट सुरु गरेको अभियान शनिबार फागुन २४ गते रौतहटमा आइपुग्दा राजावादीहरू सक्रिय भएको भन्दै माओवादी केन्द्रले स्थगन गरेको हो। आज उसले पदाधिकारी बैठक राख्ने बताएको छ।
अभियान स्थगन गर्नुअघि शनिबार रौतहटमा आयोजित सभामा माओवादी अध्यक्ष प्रचण्डले सत्तामा आउने इच्छा भएर पार्टी खोल्न र चुनाव लड्न पूर्वराजा शाहलाई सुझाव दिए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले चेतावनी दिँदै भने, ‘जनताले उदारतापूर्वक कारबाही गर्नुको सट्टा आरामसित बस्न दिएको हो। उदारतालाई राजाले कमजोरी ठानेको हो भने पार्टी खोलेर चुनाव लड्न आए हुन्छ। जबर्जस्ती गर्न खोजियो भने त्यो सह्य हुन्न।’






