जनकपुरधाम, फागुन २७ । बैदेशिक रोजगारीको क्रममा डब्बल स्क्याममा परि ४ वर्ष जेल जीवन विताएका धनुषाका प्रगास महरा अधिवक्ता दीपेन्द्र झाको प्रयास पछि थुनामुक्त भएका छन ।
रोजगारदाता कम्पनीको स्क्यामका कारण त्रिभूवन विमानस्थलबाट पक्राउ परेका क्षिरेश्वर नपा नक्टाझिजका महरा चारवर्ष पछि थुनामुक्त भएका हुन ।
साहु संग ऋृण लिएर वैदेशिक रोजगारीमा दुबई पुगेका महरा त्यहाँका रोजगारदाताले पासपोर्ट नियन्त्रणमा लिई शारीरिक यातना दिएपछि ज्यान जोगाउन कम्पनीबाट भागेका थिए । त्यसपछि नेपाल स्थित रोजगार कम्पनीलाई सम्पर्क गर्दा अर्को काम दिलाई दिने आश्वासन दिएपनि काम नदिलाई घर फर्काउने क्रममा आफनो वहिनीको विहे छ भन्दै गिफ्ट लगि दिनु भनेको र उनले दिएको सुटकेश ल्याउन लाग्दा त्रिभुवन विमान स्थलमा सुटकेश भित्रको प्रेसर कुकरमा सुन फेला पर्दा पक्राउ परेका थिए ।
विमान पक्राउ परेपछि उनिमाथि सुन चोरी पैठारीमा मुद्दा दर्ता भएकोमा कानूनी प्रतिरक्षा विहीन भएका महरालाई ८ वर्ष कैदको फैसला सुनाएको थियो ।
आर्थिक रुपमा विपन्न महरा परिवार पुनरावेदन समेत गर्न नसकी म्याद समेत गुमाई सकेको अवस्थामा अधिवक्ता दिपेन्द्र झाको सम्पर्कमा पुगेपछि झाले उनको तर्फबाट निःशुल्क पैरवी गरि उनलाई ४ वर्ष पछि थुनामुक्त गराउन सफल भएको हो । थुनामुक्त भएपछि महरा परिवारले अधिवक्त झा सहितको टिमलाई धन्यवाद दिएका छन ।






