जनकपुरधाम, फागुन २७ । जनकपुरधाम स्थितका राम स्वरुप राम सागर बहुमुखि (राराब) क्याम्पसमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचन अवरुद्ध भएको छ । स्ववियु निर्वाचनकालागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
राराब क्याम्पसमा रहेको विद्यार्थी संघ संगठनले निर्वाचन अवधिकोलागि डिजिटल आइकार्डको माग गर्दै केही दिन देखि तालाबन्दी गरेपछि निर्वाचन अवरुद्ध भएको छ । स्ववियु निर्वाचन समितिका सदस्य सचिव गुलजार राउतले आफूहरुले विद्यार्थी संघ संगठनलाई पटक पटक बार्तामा बसेर समस्या समाधान गर्नकालागि आग्रह गर्दा पनि उनीहरु आफ्नै अडानमा कायम रहेकाले निर्वाचन गराउन सक्ने परिस्थिति नरहेको बताए ।
विद्यार्थी संघ संघठनले निर्वाचनमा धान्धली हुन सक्ने, फर्जी विद्यार्थी मतदान गर्न सक्ने लगायतका समस्या आउन सक्ने सम्भावना देखाउदै निर्वाचन समितिलाई नामांकन गराएका विद्यार्थीहरुकालागि डिजिटल आइकार्डको माग गर्दै आएका छन् । राराब क्याम्पसमा करिव एक दर्जन विद्यार्थी संघ संगठन क्रियाशिल रहेको छ ।
निर्वाचन कार्यतालिका अनुसार प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय फागुन २७ को दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । दुवै तर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुनेछ ।
दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ ।






