राजविराज, फागुन २९ । विभिन्न २० बुन्दे माग राखी विगत ५ दिन देखि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका स्थित कोशी बाँधमा आमरण अनसनमा बसेका मलाह समुदायका ५ जना वृद्ध अगुवाहरु विहीबार अनसन तोडेका छन् ।
सरकारी स्वामित्वमा रहेका मत्स्य फर्महरु, सिमसार र रिर्जभ्यार आदीमा मलाह जातिीलाई पचास प्रतिशत आरक्षण, संघीय र सातवटै प्रदेशमा मत्स्य मन्त्रालयको स्थापना लगायतका विभिन्न २० बुन्दे माग राखी मलाह कल्याण संघका केन्द्रिय सदस्य ६५ बर्षीय बेचन मुखियाको नेतृत्वमा फागुन २५ देखि ७५ बर्षीय विलेक्षण मुखिया, ७० बर्षीय रशीलाल मुखिया, ६४ बर्षीय पञ्चलाल मुखिया र ६१ बर्षीय सदमलाल मुखिया आमरण अनसनमा बसेका थिए ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सिके राउतले उनीहरुलाई जुश खुवाएर अनसन तोडाएका हुने । मधेश प्रदेशका सांसद एर्व पुर्व मन्त्री महेश प्रसाद यादव, जनमत पार्टीका संगठन विभाग प्रमुख डा.जयकान्त राउत, निमित्त प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादव, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणी पौडेल राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरीका प्रमुख सुरेन्द्र कोईराला, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझी, समाजसेवी सुरज सिंह, नेपाल मलाह कल्याण संघका राष्ट्रिय अध्यक्ष नारायण मुखिया समेतको उपस्थितिमा दुइृ पक्षबीच भएको लिखित प्रतिवद्धता पश्चात उनीहरुले अनसन तोडेका हुन् ।
तीन बुन्दे लिखित प्रतिवद्धतामा आन्दोलनको स्वरुप परिवर्तन गर्ने, मलाह समुदायले उठाएका जायज माग सम्बोधनका लागि नेपाल मलाह कल्याण संघका प्रतिनिधि तथा विज्ञहरु सम्मिलित कार्यदल गठन गर्ने तथा जिल्ला जिल्लामा अन्तरक्रिया मार्फत प्राप्त सुझावहरुलाई समेटेर काठमाडौं पुगि नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने उल्लेख छ ।
समझौता पश्चात जनमत पार्टीका अध्यक्ष डा. राउतले संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै मलाह समुदायका जायज माग सम्बोधनका लागि जनमत पार्टीले समेत आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । उनले भने, “पीडितका पक्षमा हामी शुरुदेखि नै आवाज उठाउँदै आएका छौं, आज पीडित मध्येका अर्को मलाह समुदाय पनि जोडिएको छ ।”
मधेश प्रदेशका सांसद एवं जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले मलाह समुदायले उठाएका मागहरु प्रति आफूहरु गंभिर रहेको र यसका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउदै आमरण अनसन जस्तो कठोर आन्दोलन नगर्न आग्रह गरेका थिए ।
माग सम्बोधनका लागि यसअघि नेपाल मलाह कल्याण संघको अगुवाईमा माघ २५ देखि रिले अनसन शुरु गरिएको थियो । तर, रिले अनसनको एक महिना वितेपनि सरकारले कुनै चासो नदेखाएको भन्दै फागुन २५ देखि आमरण अनसन थालिएको थियो ।






