जनकपुरधाम, फागुन २९ । राजर्षि जनक विश्व विद्यालय, जनकपुरधामले फागुन ८ गते प्रकाशन गरेको करार तथा दैनिक ज्यालादारीमा शिक्षक तथा कर्मचारी भर्ना सम्वन्धि सूचना प्रति आपत्ति जनाएको छ । समाजवादी विद्यार्थी युनियनले आज एक विज्ञप्ति प्रकाशन गरी सो सूचना प्रति आपत्ति जनाएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ–‘संविधानको धारा ४ उपधारा १ मा नेपाल स्वतन्त्र अविभाज्य, सार्बभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी लोकतन्त्र, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य छ। भने व्यवस्थालाई समेत लत्याउदैं गरेको बिज्ञापन प्रति घोर आपत्ति जनाउँदैछौँ ।’
समाजवादी विद्यार्थी युनियन नेपाल धनुषाका अध्यक्ष रामभगत यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘जनता समाजवादी पार्टी, नेपालको सशक्त भातृसंगठनको रूपमा स्थापित भएको कुरालाई समेत स्मरण गराउदै, नेपालको संविधान २०७२ को धारा ४२ मा सामाजिक न्यायको हक व्यवस्था भएअनुसार, सोही धाराको उपधारा १, २, ३, ४ र ५ मा व्यवस्था भए बमोजिम सामाजिक रुपले पछाडि परेका र पारेका महिला, दलित, आदिवासी, जनजाति, मधेशी, थारू, अल्पसंख्यक, अपांगता भएको व्यक्ति, सीमान्तकृत, मुस्लिम, पिछडावर्ग, लैंगिक तथा यौनिक, युवा, किसान, श्रमजीबी, उत्पीडित वा पिछडिएका नागरिक तथा आर्थिक रुपले बिपन्न खसआर्यलाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुनेछ । भने, व्यवस्थालाई समेत निरंकुशतन्त्रका आधारमा गरेको बिज्ञापन ३ दिनभित्र समावेशी सिद्धान्त समेतको कुरालाई मध्यनजर गर्दै, संशोधन सहितको बिज्ञापन गर्न जोडदार माग गर्दैछौं ।’
अध्यक्ष भगतले मधेश टुडे संग कुराकानी गर्दै भने–‘खुद्रे बिज्ञापनबाट आफ्नो आफन्त, नातेदार र आसेपासे पाल्ने नियतिबस गरेको बिज्ञापन रद्द गरि संशोधन सहित बिज्ञापन नगरे समाजवादी विद्यार्थी युनियन, नेपाल जिल्ला कार्य समिति धनुषाले चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछ। सो आन्दोलनबाट हुने जनधनको क्षतिपूर्ति राजर्षी जनक वबिश्वबिद्यालय स्वयं नै जवाफदेही हुने जानकारी गराउदैछौं ।’



