होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछः पूर्व मेयर साह



जनकपुरधाम, चैत १। जनकपुरधाम उप–महानगरपालिकाका पूर्व मेयर तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य लालकिशोर साहले होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।  होली पर्वका अवसरमा हलवाई समाज सेवा समिति जनकपुरधामले आयोजना गरेको होली मिलन समारोहलाई सम्वोधन गर्दै पूर्व मेयर साहले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका थिए।

उनले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गरे। “विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास लिएको छु”, उनले भने ।

पूर्व मेयर साहले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि रहेको बताए । उनले नेपालीहरूको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका थिए ।

रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ । होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ ।

प्रकाशित मिति: २०८१ चैत्र १, शुक्रबार ०४:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको