राजावादीको सक्रियता पछि प्रमुख तीन दल एकजुट



काठमाडौं, चैत ५ । संवैधानिक राजसंस्था पुनस्र्थापनाको माग गर्दै राजावादी पक्षधरहरू सक्रिय बनेपछि प्रमुख तीन दल एकजुट भएका छन ।

लामो समय यता समान्य कटसी समेत निर्वाह नगरेका प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गम्भीर छलफलमा जुटेका हुन ।

सोमबार प्रधानमन्त्री ओलीले देउवा र प्रचण्डसँग छलफल गरेका छन् । सोमबार बिहान छलफल गरेका यी तीन नेताका बीचमा दिउँसो फोनमा समेत संवाद भएको थियो । साथै, सोमबार साँझसमेत यी तीन नेताबीच भेटघाट तय भएको थियो । तर, प्रचण्ड साँझको भेटघाटमा पुगेनन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच मात्रै भेटघाट भयो ।

पछिलो समय राजावादीहरूको सक्रियता बढेसँगै त्यसलाई कसरी प्रतिवाद गर्ने भन्ने विषयमा नेताहरूबीच छलफल भइरहेको छ । ‘अहिले सडकदेखि सदनसम्म राजावादीहरू सक्रिय भएका छन्,’ बालुवाटार स्रोतले भन्यो, ‘पूर्वराजाले राजसंस्था पुनस्र्थापनाका लागि अपिल गरेदेखि राजावादीहरूले केही न केही गरिरहेका छन्, त्यसै विषयमा नेताहरूका बीचमा छलफल, भेटघाट भइरहेको छ ।’

राजसंस्था कुनै हालतमा नफर्किने भन्दै ठूला राजनीतिक दलका नेताहरूले सार्वजनिक रूपमा प्रतिवाद गर्दै आएका छन् । साथै, पार्टी बैठकबाट त्यसलाई प्रतिवाद गर्नेदेखि पूर्वराजा ज्ञानेन्द्र शाहलाई बढी चुरीफुरी नदेखाउन प्रमुख दलका नेताहरूले चेतावनीसमेत दिइरहेका छन् ।

यसैबीच, एमालेले मुलुकलाई अलोकतान्त्रिक दिशामा फर्काउने प्रयास स्वीकार्य हुन नसक्ने निष्कर्ष निकालेको छ । एमाले केन्द्रीय सचिवालयले विशेष प्रस्ताव पारित गर्दै प्राप्त उपलब्धिलाई अस्वीकार गर्ने, एकोहोरो नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने जस्ता गतिविधि स्वीकार्य नहुने जनाएको छ ।

सोमबार बसेको एमाले सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विकसित समसामयिक राजनीतिक विषय तथा सरकारका कामका विषयमा जानकारी गराएका थिए ।

प्रकाशित मिति: २०८१ चैत्र ५, मंगलवार १४:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको