जनकपुरधाम, चैत ५ । पूर्व राजा ज्ञानेन्द्र साहले राज संस्था फर्काउने संयुक्त आन्दोलनको नेतृत्व गर्न जिम्मेवारी दिएका नवराज सुवेदीको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले अस्वीकार गरेको छ ।
मंगलबार सम्पन्न कार्यसम्पादन समितिको बैठकले सुवेदीको नेतृत्वमा नभई आफनै पार्टीको नेतृत्वमा राजसंस्था फर्काउने आन्दोलन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका हुन् ।
बैठकले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजसंस्था फर्काउनको लागि आन्दोलन गर्ने निर्णय गरेको हो । आन्दोलनको कार्यक्रम तय गर्नका लागि चैत १२ गते मूल आयोजक समितिको बैठक बोलाइएको छ। सोही बैठकले आन्दोलन कार्यक्रम घोषणा गर्ने उनको भनाइ छ।
चैत १२ गतेको बैठकमा धवलशमशेर राणा नेतृत्वको आन्दोलन परिचालन समितिले आन्दोलन सम्बन्धी कार्ययोजना पेस गर्नेछ ।
दुर्गा प्रसाईको सहयोगमा नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिले निर्देशक समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनको नाम समेत समावेश गरेको थियो । तर समितिको नाम सार्वजनिक भए लगतै लिङ्गदेन सहितका नेताले अस्वीकार गरेका थिए ।
राप्रपाको निर्णयले राजावादीहरुको आन्दोलन एक जुट नहुने संकेत देखिएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा, केशर बहादुर विष्ट लगायतका नेताहरुले समेत उक्त समितिलाई अस्वीकार गरि सकेको छ ।
राजावादीहरुको आन्दोलन शुरु नहुँदै देखिएको गुटफुटले आन्दोलन कमजोर हुने आकलन गर्न थालिएको छ ।



