सिरहा, चैत ६ । सिरहा जिल्लाको औरही गाउँपालिकामा हुन लागेको श्री विष्णु महायज्ञ एवम् श्रीमद्भागवत कथा विथोल्न षडयन्त्रकारीहरु सक्रिय भएको पालिकाका अध्यक्ष शिवजी यादवले आरोप लगाएका छन् । औरही गाउँपालिका–५ मा श्री श्री १००८ श्री विष्णु महायज्ञ चैत १७ गते देखि प्रारम्भ हुन लागेको छ ।
महायज्ञ स्थललाई लिएर अहिले सिरहाको औरही तातिएको छ । महायज्ञ स्थलमा रहेको एक दलित परिवारलाई उठिबास गराएर महायज्ञ गर्न थालेको आरोप अध्यक्ष यादवमाथि केही व्यक्तिहरुले लगाउँदा उनले भने–‘महायज्ञ हुने स्थल कृषि बजार लगाउने स्थल हो । आज नभोली उनलाई त्यहाँबाट हट्नुपर्ने थियो तर, ती दलित परिवारलाई हामीले बलजर्वजस्ती नभई सहमतिमा अन्य ठाउँमा घरबारको व्यवस्था गरेर व्यवस्थापन गरिएको छ । दलितको नाम लिएर म माथि लगाइएको आरोप निराधार छ, कपोकल्पित छ, ती परिवारलाई गाउँपालिकाले घर बनाएर सम्पूर्ण व्यवस्था गरेर दिएको छ ।’
औरही गाउँपालिकाका अध्यक्ष यादवका अनुसार महायज्ञ भएपछि त्यहाँ कृषि बजार बनाउने टेण्डर भएर बोलपत्र कवोल समेत भई सकेको छ । कृषि बजारको काम शुरु भई सकेको हुन्थ्यो तर, महायज्ञकै कारण अलि ढिलो भएको उनले बताए ।
केही अराजक गतिविधिमा लागेका व्यक्तिहरु महायज्ञ विथोल्ने प्रयासमा रहेको भन्दै अध्यक्ष यादवले महायज्ञबाट हुने आम्दानीले यहाँ कलेज स्थापना गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष यादवले बताए । गाउँ पालिकाको सहयोग र महायज्ञवाट हुने आम्दानीने कलेज स्थापना गर्ने आफू संगै कार्यपालिकाको योजना रहेको उनले बताए ।
अध्यक्ष यादवका अनुसार औरही गाउँपालिकामा भएको विकास निर्माण संगै शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारमा भएको व्यापक परिवर्तनले अवसरवादी, गैरविकासबादी र नैतिक पतनहरु सक्रिय भएर आफ्नो तथा गाउँपालिकाको विरोधमा लागेका कारण महायज्ञ जस्तो पवित्र कार्यमा समेत बाधा अड्चन गर्ने प्रयास गरेको छ ।
उनले भने–‘दलित परिवारकै कुरा छ भने पालिकामा आएर सम्पूर्ण कागजात हेरिए भईहाल्यो नि ! हामीले ती दलित परिवारलाई त्यहाँबाट भगाएको हो, विस्थापित गरेको हो कि व्यवस्थापन गरेको हो उनी संग पनि सोध्दा वा गाउँपालिकामा रहेको कागजात हेर्दा हुन्थयो तर, विवाद झिक्नु छ उनीहरुलाई । त्यहि भएर यस्ता यस्ता बखेरा ल्याएको छ ।’
महायज्ञ अन्तर्गत चैत १७ गते ६ बजे देखि कलश यात्रा, ४ बजे देखि श्रीमद्भागवत कथा आरम्भ, १८ गते सोमबार विहान ८ बजे
देखि नौकुण्डिय महायज्ञ प्रारम्भ हुने, १८ गते सोमबार देखिनै बेलुका ३ बजे देखि ७ बजे सम्म श्रीमद्भागवत कथा एवम् संगीत प्रवचन, १८ गते सोमबार देखि राति ८ बजे देखि १२ बजे सम्म रासलिला हुने कार्यक्रम तय गरिएको छ ।
श्री श्री १०८ श्री महात्यागी बजरंगी बाबाको विशेष पहलमा हुन लागेको सो महायज्ञमा वृन्दाबनकी साधवी आर्या पण्डित सहभागि हुने आयोजकले जनाएको छ ।






