सिरहा, चैत ९ । सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई पक्राउ गरेको विरुद्धमा सिरहामा मध्यराति सम्म प्रदर्शन गरिएको छ । औरहीमा हुन लागेको महायज्ञ स्थलवाट डोम परिवारलाई स्थानान्तरण गरेको समाचारहरु प्रकाशित भएपछि उनी दुवै जनालाई पक्राउ गरिएको विरोधमा स्थानीयबासीहरुले प्रदर्शन गरेका छन् ।
औरही गाउँपालिकाका सयौ सर्वसाधारणहरुले महायज्ञ विथोल्ने हिसावले समाचार प्रकाशन भएको र प्रहरी प्रशासनले पूर्वाग्रही भएर उनी दुवै जनालाई नियन्त्रणमा लिएको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेको स्थानीयबासीहरुले बताएका छन् । यथार्त के हो नबुझेर सामाचार लेखिएकै भरमा आफ्नो जनप्रतिनिधिलाई नियन्त्रणमा लिनु र दलितको बाहानामा राजनीतिक स्वार्थ सेकेको भन्दै उनीहरुले प्रदर्शन गरे ।
चैत १७ गते देखि त्यहाँ महायज्ञ हुदैछ र ९ गते उनीहरुलाई नियन्त्रणमा लिएका छन् । यथार्त वुझ्नकालागि काठमाडौँमा नभई सिरहा आउनुपर्ने नारा लगाउँदै उनीहरुले प्रहरी प्रशासन र सरकार विरुद्ध नाराबाजी गरेका छन् । सर्वसाधारणहरुले महायज्ञलाई प्रभावित गर्न सुनियोजित तवरले समाचार प्रकाशन गर्ने अनि अनुसन्धान विना स्थानीय सरकार प्रमुखलाई नियन्यन्त्रमा लिनुले सरकार सनातन धर्म विरोधी गतिविधि गरेको आरोप लगाएका छन् ।
सरकारको यस्तै गतिविधिले राजाबादी मौलाउँदै गएको बताउँदै सिरहा औरहीका एक जनाले भने–‘हिन्दु धर्म सहित राजतन्त्रको पक्षमा यसै यसै कारणले जनसमर्थन बढ्दै गएको छ ।’ सोधपुछको लागि दुवै जनालाई सिरहा प्रहरीले बोलाएका थिए । दुवै जना जिल्ला प्रहरी कार्यालय पुग्दा दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।






