जनकपुरधाम, चैत ९ । नेपाल मधेशी निजामतीकर्मचारी मंचको चौथो महाधिवेशनवाट निर्विरोध निर्वाचित केन्द्रीय अध्यक्ष लालबाबु यादवले आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
अध्यक्ष यादव जारी गरेको प्रतिवद्धता पत्रमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका मन्त्रालय, कार्यालय, सचिवालयहरुमा रहेका निजामती कर्मचारीहरुको नियमित सरुवा वृत्ति विकास, निजामती सेवा ऐन कानुन बमोजिम गर्न गराउन यस मञ्चबाट दवावमूलक कार्यक्रमको आयोजना गरी सुशासन प्रति कटिवद्ध रहने जनाएको छ ।
त्यस्तै संघीयता कार्यान्वयनका लागि तीनै तहका सरकारहरुबाट निजामती कर्मचारीहरु माथि भई रहेको विभेद, थिचोमिचोको अन्त्य गर्दै स्वच्छ, निष्पक्ष तवरले जनताको सेवा प्रवाहमा सहज सरल मोलाहिजा रहित र भयरहित वातावरणको सृजना गरी व्यवस्थापनलाई सहयोगको रुपमा यस मञ्चले कामकाज गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रदेश सरकार र स्थानीय तहमा भईरहेको संघीय हस्तक्षेपलाई तत्काल बन्द गरी नेपालको संविधानको अनुसूचि बमोजिमको अधिकार सूची अनुसार सेवा प्रवाहको बातावरण तयार गर्न यस मञ्चले सक्रिय भूमिका निर्वाह गर्नेछ लगायतका ११ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् ।






