लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुन सक्दैन : त्रिपाठी



काठमाडौं, चैत ९ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुन नसक्ने बताएका छन् ।

आज एक संचारमाध्यम संगको कुराकानीमा उनले अहिलेका नेताहरु भ्रष्ट भएको, देश बनाउन नसकेकको कुरा सत्य रहेपनि एउटा विकृतिको अन्त्य गर्न अर्को विकृति (राजसंस्था) अगाडि बढाउन नसकिने बताएका हुन् । उनले अहिले देशमा नेतृत्वको सङ्कट रहेको भने स्वीकार गर्नुपर्ने बताए ।

‘एउटा विकृति अन्त्य गर्न अर्को विकृति अगाडि बढाउन खोजिएको छ । त्यो कुनै सही बाटो होइन । दलका नेताहरु भ्रष्ट भए, देश बनाउन सकेनन् भन्ने कुरामा दुइमत छैनन् । लोकतन्त्रमै यस्ता भ्रष्टाचार उजागर हुन्छ, लोकतन्त्रको अभावमा यस्तो भ्रष्टाचार उजागर पनि हुँदैन,’– उनले भने ।

नेता त्रिपाठीले देशको मूल समस्या भनेको भ्रष्टाचार नै रहेको बताए । राणतन्त्र, राजतन्त्र हुँदै गणतन्त्रसम्म भ्रष्टाचार व्याप्त भएको उनले बताए । ‘यो देशको सबैभन्दा ठूलो समस्या भनेको संस्थागत भ्रष्टाचार नै हो । राणातन्त्रमा थियो, राजतन्त्रमा थियो । गणतन्त्रमा पनि त्यो भ्रष्टाचार संस्थागत रुपले अगाडि बढिरहेको छ । जनता त्यसबाट वाक्कदिक्क भएको अवस्था छ । व्यक्तिहरु फेरिन्छन्, प्रवृत्ति फेरिएको छैन । संघदेखि स्थानीय तहसम्म भष्टाचार छताछुल्ल भएको अवस्था छ । जहाँ जुन गन्तव्य हो, या जे हुनुपर्ने समाधानको बाटो, त्यो कसैले देखाउन सक्ने स्थिति छैन । भावनालाई भड्काएर, भावनामा गएर सबै समाधान यही हो भनेजस्तै अहिले जुन प्रवृत्ति अगाडि बढिरहेको छ,’– उनले भने ।

साथै, अहिले देशमा संघीयता नै नरहेको उनको दाबी छ । विकृत रुप लागू गराएर संघीयताको बदनाम गराउने प्रयास भइरहेको उनको आरोप छ । संघीयतामा देशलाई लानसक्ने नेतृत्वको विकास नै नभएको उनले बताए । संविधानप्रदत्त अधिकार अझै प्रदेशहरुलाई दिन आनाकानी भइरहेको उनले बताए । देश राजनीति अन्यौलताको अवस्थामा रहेको र अर्थतन्त्र पनि बिग्रिएको उनले बताए । राजनीतिक नेताहरुप्रति जनतामा नकारात्मक भाष्य निर्माण भइसकेको उनले बताए । तर, देशमा राजतन्त्र र राजाहरुले समस्याको समाधान दिन नसक्ने उनले बताए । नेपाली कांग्रेस, नेकपा (एमाले) लगातका दलहरुले भ्रष्टाचारजन्य क्रियाकलाप गरेकै कारण देशमा राजतन्त्र आउँछ भनेर कसैले भनेको खण्डमा त्यो भ्रममात्रै हुने बताए ।

प्रकाशित मिति: २०८१ चैत्र ९, शनिबार १२:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको