जनकपुरधाम, चैत १६ । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजक हत्याको विरोधमा आज जनकपुरधाममा प्रदर्शन तथा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै बिहीबार काठमाडौँ केन्द्रित प्रदर्शनको क्रममा पत्रकार सुरेश रजकलाई जिउँदै जलाएर हत्या गरेको विरोधमा महासङ्घले र्यालीसहित श्रद्धाञ्जली सभा गरेको छ । महासङ्घको अगुवाइमा निस्केको विरोध र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै सभामा परिणत भएको थियो । ब्यानर, प्लेकार्डसहित निस्केको विरोध र्यालीमा पत्रकार रजकलाई हत्या गर्ने माथि कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर पत्रकार संस्था माथिको आक्रमण बन्द गर जस्ता विषयमा लगाइएको थियो ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ धनुषा पत्रकारहरुले पत्रकार रजकको हत्यारालाई कारबाही नभए कडा आन्दोलनमा जाने चेतावनी दिए।
महासङ्घले विगतमा भएको प्रजातान्त्रिक आन्दोलनको क्रममा पनि पत्रकारलाई जिउँदै जलाउने काम नभएको भन्दै धनुषाका पत्रकारहरूले यस घटनाको निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।






