मलंगवा, चैत १८ । सर्लाहीका पत्रकारले आज प्रमुख जिल्ला अधिकारी (सिडिओ) मार्फत सरकारलाई ज्ञापन–पत्र बुुझाउँदै छन् ।
पत्रकारको हत्या तथा सञ्चारगृह र सञ्चारकर्मीमाथि भएको आक्रमणको विरोधमा पत्रकारले देशव्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय मलंगवामा सिडिओलाई भेटेर ज्ञापन–पत्र बुुझाउन लागेका हुन् । यसअघि जिल्लाका पत्रकारले हिजो हातमा कालोपट्टी बाँधेर काम गरेका थिए ।
गएको शुक्रबार सङ्घीय राजधानी काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनकाक्रममा एक घरमा आगजनी हुँदा भिडियो कैद गरिरहेका एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको जलेर मृत्युु भएको थियो । त्यस्तै आन्दोलनकारीले विभिन्न सञ्चारगृहमा ढुुङ्गामुढा प्रहार गरेका थिए । सो घटनाको विरोधमा अहिले पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको अगुवाईमा देशभरका पत्रकार आन्दोलित छन् ।
महासङ्घले तय गरेको देशव्यापी आन्दोलनको कार्यक्रमअन्तर्गत सर्लाहीका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारले हिजो हातमा कालोपट्टी बाँधेर समाचार सङ्कलन, लेखन तथा वाचनको काम गरेका हुन् । आन्दोलित पत्रकारले दिवगङ्गत पत्रकार सुरेश रजकको परिवारलाई उचित राहत प्रदान गर्न, पूर्ण प्रेस स्वतन्त्रता कायम गर्न र प्रेसमाथिको दमन बन्द गर्न माग गरेका छन् ।
जिल्लाका पत्रकारले यसअघि गएको शनिबार सदरमुकाम मलङ्गवामा विरोध र्याली र कोण सभा सम्पन्न गरेका थिए ।






