काठमाडौँ, चैत १९ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त र बर्खास्तामा परेका हितेन्द्र शाक्य र कुलमान घिसिङको रिटको सुनुवाइ मंगलबार सकिएन।
न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेशी तोकिएको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दै मा राखिएको सर्वोच्च प्रशासनले जानकारी दियो। सुनुवाइले बुधबार पनि निरन्तरता पाउनेछ।
चैत ११ गते सरकारले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएपछि उनी गैरकानुनी रुपमा हटाएको भन्दै सर्वोच्च अदालत गएका थिए। शाक्य भने चार वर्षअघि आफू बर्खास्तीमा परेको रिटको छिटो सुनाइको माग गर्दै अर्को रिट लगेर चैत ११ गते नै सर्वोच्च गएका थिए।
परस्पर फरक माग राखेर गएका घिसिङ र शाक्यको मुद्दालाई सर्वोच्चले एक साथ राखेर सुनुवाइ गरेको हो। यसअघि चैत १७ गते दुवै जनाको रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको संयुक्त इजलासमा परेपनि हेर्न नमिल्ने परेको थियो।
त्यसअघि चैत्र १५ गते अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटमा ‘कारण देखाऊ’ आदेश दिँदै अन्तरिम आदेशको छलफलका उपस्थित हुन भनेका थिए।






