राजविराज, चैत १९ । वैश्य महासंघ नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिँदै पदभार ग्रहण गरेका छन् । सप्तरी सदरमुकाम राजविराजमा मंगलबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय वैश्य महासंघ नेपालका राष्ट्रिय अध्यक्ष परमेश्वर महासेठले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
केही दिन अघि वैश्य समाजमा आवद्ध जातिय संगठनको बृहत भेलाले श्याम प्रसाद साहको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको थियो । पद तथा गोपनियताको सपथग्रहण गराए सँगै प्रमाणपत्र बितरण गर्दै प्रमुख अतिथि राष्ट्रिय अध्यक्ष महासेठले महासंघमा आवद्ध वैश्य समाजको आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक उत्थानका लागि विभिन्न खाका बनाएर आफूहरु अघि बढेको जानकारी गराए । उनले वैश्य समाजको पेशागत हकहित, अधिकार तथा उत्थानमा नवनिर्वाचित समितिले पनि प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिए ।
उनले वैश्य समाजमा एकताको अभाव हुँदा राजयको विभिन्न निकायमा पहुँच र अधिकार प्राप्तिमा कठिनाई हुने गरेको भन्दै सबै एकजुट हुनु पर्ने आवश्यकता समेत औल्याए । उनले वैश्य समाजलाई संगठित गर्न अहिले विशेष सांगठनिक अभियान नै चलाएको जानकारी दिँदै यो अभियान मेची देखी महाकालीसम्म पुग्ने बताए ।
कार्यक्रममा राष्ट्रिय वैश्य महासंघ नेपालका सचिवद्वय बजरंगी प्रसाद साह, रामउदार महासेठ, पूर्व मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सांसद किरणकुमारी साह, पूर्वप्रदेश सांसद नेत्रविक्रम साह, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, सप्तरी उद्योग बाणिजय संघका अध्यक्ष लालुप्रसाद अग्रवाल, जिल्ला बार एशोसिएशनका पूर्वअध्यक्ष डोमन साह, महिला नेतृ रमिला साह लगायतले पनि नवनिर्वाचित कार्य समितिलाई शुभकामना व्यक्त गर्दै वैश्य समाजमा आपसी एकता कायम गर्न तथा समाजमा रहेका विकृती बिसंगतिहरु बिरुद्ध सबै एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको उद्घाटन समारोहको अध्यक्षता राष्ट्रिय वैश्य महासंघ नेपालका सचिव बजरंगी प्रसाद साहले गरेका थिए भने पदभार ग्रहण सकिएपछी दोश्रो सत्रको अध्यक्षता नवनिर्वाचित अध्यक्ष श्यामप्रसाद साहले गरेका थिए ।






