जलेश्वर, चैत २१ । महोत्तरीको लक्ष्मी नारायण मठ (मटिहानी मठ)मा फर्जी उत्तराधिकारी महन्थ नियुक्त गरिएको छ । गुरु शिष्य परम्परा अनुसार महन्थ नियुक्त प्रक्रियामा गुठी संस्थानले आफूखुशी महन्थका शिष्यलाई नभई अन्य व्यक्तिलाई उत्तराधिकारी महन्थ नियुक्त गरेको पाइएको छ ।
गुठी संस्थानले भारतीय नागरिक रहेको आरोप समेत लागेको डा. रविन्द्र दासलाई उत्तराधिकारी महन्थ बनाएपछि यहाँ विवाद तातिएको छ । मटिहानी मठको जग्गा बेचेको, मानमहन्थ जग्गननाथ दासलाई सिडिओको नक्कली सही गरेर बैंकबाट पैसा झिकेको आरोपमा पक्राउ गराएको जस्ता प्रकारका आरोप लागेका व्यक्तिलाई उत्तराधिकारी महन्थ नियुक्त गरेपछि गुठी संस्थान केन्द्रीय कार्यालयले पैसाको चलखेल गरेको आरोप स्थानीयबासीहरुले लगाएका छन् ।
उत्तराधिकारी महन्थ नियुक्तिको प्रावधान रहे पनि मटिहानी मठ छुट गुठीमा परेकोले यो र जनकपुरधामको जानकी मन्दिरमा गुरु शिष्य परम्परा सही आएको छ । तर, डा. रविन्द्रबाट मोटो रकम लिएर गुठी संस्थानले उनलाई उत्तराधिकारी महन्थ नियुक्त गरेको स्थानीयहरु बताउँछन् ।
महन्त नियुक्त गर्ने गुठी संस्थानको निर्देशिकामा भनिएको छ–‘ गुरु शिष्य परम्परा अनुसार सनातन देखि चल्दै आएको मठ मन्दिर र देवस्थलमा आवश्यक काम, कर्तव्यरअधिकार तोकी महन्तको सिफारिसमा समितिको स्वीकृति लिई प्रशासकले ऐनको दफा १६ बमोजिम उत्तराधिकारी महन्त नियुक्त गर्न सक्नेछ ।’ तर मटिहानीमा मानमहन्थको स्वीकृति बिना नै उत्तराधिकारी महन्त नियुक्त गरिएको छ ।
मटिहानी मठका मानमहन्थले आफ्नो शिष्य र उत्तराधिकारी महन्थ डा. रविन्द्र नभई हितरामदास बैष्णव रहेको बताउँछन् । उनले भने–‘हितरामदास बैष्णव योग्य, पढेलेखेका, श्रीमद्भागवत पाठ गर्न सक्ने रहेकाले आफू उनलाई नै उत्तराधिकारी मानिरहेको छु ।’
उनले आफ्नो पहिलो शिष्य हितरामदास बैष्णव नै रहेको दावी गर्दै मानमहन्थ बैष्णवले आफू त्यस्तो व्यक्तिलाई उत्तराधिकारी महन्थ बनाउन नसक्ने बताए । उनले भने–‘त्यस्तो व्यक्तिलाई आफूले उत्तराधिकारी महन्थ मान्दैनौ उनी लुटेरा हो, उसलाई उत्तराधिकारी बनाए भने सवै थोक लुट्ने, सवै श्रीसम्पती बेच्ने छन् ।’
उत्तराधिकारी महन्थ मानमहन्थले नियुक्त गर्ने बताउँदै उनले भने–‘गुठी संस्थानले यस स्थानमा कसरी उत्तराधिकारी महन्थ नियुक्त गरे गुठी संस्थानले जानोस ।’
डा. रविन्द्र दास बैष्णव उत्तराधिकारी महन्थ बन्ने लायक नै नरहेको आरोप लगाउँदै मानमहन्थले यसको विरोधमा उत्रे पछि अहिले महोत्तरीको माहोल नै तातिएको छ । उत्तराधिकारी महन्थ भनिएका डा. रविन्द्र विरुद्ध पटक–पटक स्थानीयबासीहरु आन्दोलित हुनु परेको छ भने उनीमाथि मानमहन्थलाई छलेर मटिहानी स्थानका कयौं विघा जग्गा बेचेको आरोप छ ।
उत्तराधिकारी महन्त नियुक्त प्रक्रिया
गुरु शिष्य परम्परा अनुसार सनातन देखि चल्दै आएको मठ मन्दिर र देवस्थलमा आवश्यक काम, कर्तव्यरअधिकार तोकी महन्तको सिफारिसमा समितिको स्वीकृति लिई प्रशासकले ऐनको दफा १६ बमोजिम उत्तराधिकारी महन्त नियुक्त गर्न सक्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि यो निर्देशिका आउनु भन्दा अगाडि उत्तराधिकारीको व्यवस्था भई रहेको मठमा महन्तको चेलामध्ये समितिले उपयुक्त ठहर्याएको दफा ८ बमोजिम योग्यता भएको चेलालाई आवश्यक काम, कर्तव्य र अधिकार तोकि उत्तराधिकारी महन्तको रुपमा नियुक्त गर्न सक्नेछ ।
(३) समितिले उपयुक्त ठानेमा उत्तराधिकारी महन्तको पुनः नियुक्ति हुन सक्नेछ ।(४) उत्तराधिकारी महन्तले निज नियुक्ति भएको मठका महन्तको मातहत र निर्देशनमा रही मठको संरक्षण र सम्वद्र्धनमा काम गर्नुपर्नेछ । महन्तको अनुपस्थितिमा महन्तले गर्ने दैनिक कार्य उत्तराधिकारी महन्तले गर्नेछ ।






