जनकपुरधाम, चैत २२ । धार्मिक सम्पदाका धनी जनकपुरधामका विभिन्न मठ मन्दिरका जग्गाहरु भुमाफियाको चंगुलमा फसेपछि अहिले विभिन्न मठमन्दिरहरुसंग एक धुर जग्गा पनि नरहेको तथ्य भेटिएको छ । त्यसैगरी सयौ मठमन्दिर र पौराणीक सम्पदाहरु मध्ये चार दर्जन जति कुटी तथा मठमन्दिरहरुको अस्तित्वनै समाप्त भएको तथा पहिलेको ठाँउबाट हराएको तथ्य पनि भेटिएको छ ।
धार्मिक सम्पदाहरू विशेष गरी कुटी र मठ–मन्दिरहरूको जग्गाको विषयमा खोजवीन गर्दै गर्दा जनकपुरधामका ऐतिहासीक ४५ वटा कुटि तथा मठमन्दिर आफनो ठाउबाट विलुप्त भइसकेको अर्थात अतिक्रमण गरी मन्दिरलाई समाप्त पारेर कव्जा भइसकेको रहस्योदघाट्न भएको छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकी मन्दिरको जग्गामा आफनो प्रतिष्ठानका लागि उदघाट्न गरिरहदा जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले मन्दिरसंग खोजवीन पनि नगरी केन्द्रिय गुठीले जवरजस्ती जानकी मन्दिरको जग्गा प्रतिष्ठानलाई प्रदान गरेको बताइरहदा उनलेनै जनकपुरधामका चार दर्जन जति ऐतिहासीक तथा धार्मिक मठमन्दिरहरु विगत दस देखि पन्ध्र वर्षको अन्तरालमा भुमाफियाको कव्जा देखि लिएर गुठी संस्थानका केही प्रशासकहरूको मिलेमतोमा यी सम्पदाहरूको अस्तित्व मेटिँदै गएको खुलासा गरे ।
महन्थ वैष्णवले जानकी मन्दिरकै प्रांगनमा रहेको लक्ष्मण मन्दिर मातहतमा रहेको ८७ बिघा जग्गामध्ये अहिले एक धुर पनि बाँकी नरहेको बताए । यस सम्वन्धमा लक्ष्मण मन्दिरका पुजारी संग खोजवीन गर्दा जग्गा कसरी हराए भनेर आफुलाई थाहा नभएको बताए । केन्द्रिय गुठीले नै जनकपुरधामका मठमन्दिरका जग्गा हिनामीना गर्दै आएको र सम्वन्ध्ति मन्दिर प्रशासनलाई जानकारि समेत नदिइएको महन्त दासको भनाई रहेको छ । जनकपुरधामको विरपुर कुटीबाट राधाकृष्ण भगवानको मन्दिर गायब गरी बेचेको र त्यसको मातहतमा रहेको जग्गाहरूको कुनै अभिलेख नराखिएको दाबी गरिएको छ । सीता कुण्डको जग्गा कसलाई कुन प्रयोजनका लागि दिइएको भन्ने कुनै हिसाब छैन । महावीर चोकस्थित महालक्ष्मी ज्वेलर्सको अगाडि रहेका घरहरू राम मन्दिरको जग्गामा रहेको बताइन्छ ।
गुठी संस्थानको तथ्यांकअनुसार जनकपुरधाम नगर क्षेत्रभित्र गुठीको ३ सय ५१ बिघा ६ कट्ठा १३ धुर जग्गा रहेको छ । सोमध्ये लक्ष्मण मन्दिरको ४२ बिघा १ कट्ठा १६ धुर, रत्न सागरको ४३ बिघा ३ कट्ठा ६ धुर, अग्निकुण्डको २ बिघा १३ कट्ठा, बराही कुटीको ७ बिघा १६ कट्ठा, जानकी मन्दिरको ५० बिघा ९ कट्ठा ८ धुर, कुवा मठ २७ बिघा ९ कट्ठा, हनुमान नगरको २६ बिघा ६ का ५ धुर, सीताकुण्डको ५ बिघा ११ कठ्ठा १२ धुर, विरख कुटीको ६ बिघा ३ कठ्ठा १० धुर, राम मन्दिरको १ सय ३४ बिघा १४ कट्ठा ५ धुर, तीताद्री मठको १ कट्ठा १ धुर र कपिलेश्वरको ४ बिघा १६ कट्ठा १३ धुर रहेको छ ।
यी जग्गालाई केही महन्तले प्लटिङ गरी बेच्ने कार्य गर्दा पनि प्रशासनले कुनै कारबाही नगरेको देखिएको छ । गुठी संस्थानको ०६२÷६३ सालको अभिलेखमा १२ वटा कुटीका ४० बिघा एवम् जानकी मन्दिर, राम मन्दिर, रत्नसागर, दुलहा दुलही, बेलाकुटी मन्दिरका २३ बिघा १ धुर तैनाथी जग्गा ८ सय ९६ व्यक्तिले अतिक्रमण गरेको उल्लेख छ ।
सोमध्ये छिमेकीले मिचेको, च्यापेको २३, घर बनाएको ७ सय ४१, घेरबेर गरेको ६५, शौचालय बनाएका ६, नर्सरी सञ्चालन २, मन्दिर मूर्तिसमेत १२, धर्मशाला निर्माण ३, चौतारा निर्माण १, विद्यालयले १ र अन्य ४२ ले अतिक्रमण गरेका छन् ।
यस विषयमा गुठी संस्थान शाखा कार्यालय जनकपुरधामका प्रमुख आनन्द प्रसाद कर्माचार्यले भने, ‘गुठी जग्गाहरूको संरक्षण र व्यवस्थापन हाम्रो प्राथमिकता हो । यदि कुनै जग्गा अतिक्रमण भएको छ भने त्यसलाई फिर्ता ल्याउन कानूनी प्रक्रिया अघि बढाइनेछ । स्थानीय प्रशासन र सरोकारवालाहरूको सहयोगमा गुठी सम्पत्तिको रक्षा गर्न प्रतिबद्ध छौं ।’
गुठी संस्थान जनकपुरधामका प्रमुखले यस्तो भनिरहदा जनकपुरधामका यी ऐतिहासीक कुटिहरुको अस्तित्व समाप्त भएको छ स्
रामबिहारी दासको कुटी : प्रादेशिक अस्पतालको पूर्व र दक्षिण कुनामा ब्लक निर्माण गर्नका लागि समाप्त पारियो ।
रामहृदय दासको कुटी : साबिकको इमरजेन्सी सेवा र रेडक्रस भवनको ब्लक निर्माणका लागि तोडियो ।
जानकी बल्लभ शरणको कुटी : हालको पानी टंकी रहेको भवनमा रहेको कुटी समाप्त पारियो ।
जुगल दासको कुटी : जानकी माविको उत्तरतर्फ रहेको कुटीको अस्तित्व समाप्त भयो ।
रासबिहारी दासको कुटी : जानकी माविको दक्षिणतर्फ रहेको कुटी मासेर भगवानको मूर्ति हटाई नर्सिङ होम बनाइयो ।
रेवासी माइजीको कुटी : जानकी माविको पश्चिम डिलमा रहेको कुटी हटाई ठूलो भवन निर्माण गरियो ।
पडौल कुटी : पूर्वमेयर लालकिशोर साहको घरदेखि दक्षिणपूर्व बाटोमा रहेको कुटी मासेर भवन बनाइयो ।
विमला बिहारी शरणको कुटी : पूर्वमेयर लालकिशोर साहको घरदेखि दक्षिणतर्फ रहेको कुटी गायब पारियो ।
रघुवीर शरण ब्यासको कुटी : रामजानकी पिक्चर प्यालेसको दक्षिणतर्फ रहेको कुटी हटाई टोल बनाइयो ।
विरख कुटी : आँखा अस्पताल पछाडि रहेको कुटी भूमाफियाहरूले समाप्त पारे ।
विरपुर कुटी : बागबानी क्षेत्रमा रहेको कुटी हटाई भगवानको मूर्ति गायब गरी ठूलो भवन बनाइयो ।
मिथिला बिहारी कुटी : ज्ञानकूप पाठशालामा रहेको कुटीका पूजारी रामदेव शरणले सबै जग्गा बेचे । त्यहाँका मुल पूजारी अयोधी शरणको नाममा जग्गाहरुको लालपूर्जा भए पनि उनलाई प्रवेश निषेध गरियो ।
रसिक निवास : ठूलो विद्यालय निर्माण गरियो र पोखरी पुरियोस भटवा कुटी पनि समाप्त पारियो ।
लक्ष्मी शरण, रामअवतार शरण, रामदयाल शरणको कुटी : बिहार कुण्डमा रहेका यी कुटीहरूको अस्तित्व समाप्त पारियो ।
भजनिया कुटी : परिक्रमा सडकमा रहेको कुटीको अस्तित्व मेटाइयो ।
पिपराको महन्थको कुटी : विषहरा पोखरीको दक्षिण डिलमा रहेको कुटी समाप्त पारियो ।
कन्टहबा कुटी : विषहरा पोखरीको पश्चिम डिलमा रहेको कुटी हटाई स्काउट भवन बनाइयो ।
लक्ष्मण दास र चेतन दासको कुटी : प्रमुख जिल्ला अधिकारीको आवासमा रहेका यी कुटीहरू ताना गौतम प्रजिअको कार्यकालमा भगवानको मूर्ति हटाई भवन निर्माण गरियो ।
तपसी जीको कुटी : जिल्ला प्रहरी कार्यालय भवनको पूर्व कुनामा रहेको कुटीको अस्तित्व समाप्त पारियो ।
जनकपुरधामका धार्मिक सम्पदाहरूको संरक्षण र गुठी जग्गाहरूको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायहरूबीच समन्वय आवश्यक देखिन्छ । स्थानीय बासिन्दा, प्रशासन, गुठी संस्थान र धार्मिक नेतृत्वबीच सहकार्य गरी यी सम्पदाहरूको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको महन्थ दास बताउँछन् । महन्थ वैष्णवका अनुसार विभिन्न स्थानहरूमा रहेका कुटीहरू तोडफोड गरी नयाँ भवनहरू निर्माण गरिएको छ ।
जनकपुरधामको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदामाथि भूमाफियाहरूले गरेको अतिक्रमण, गुठीका प्रशासकहरूको भ्रष्टाचार र प्रशासनको लाचारीका कारण दर्जनौं कुटी, मठ र मन्दिरहरू मासिएका छन् । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार यी सम्पदाहरू भूमाफियाहरुले समाप्त पारेका छन् ।
लक्ष्मण मन्दिर मातहतको ८७ बिघा जग्गामध्ये अहिले एक धुर पनि बाँकी छैन । सबै गुठी प्रशासकहरूले हिनामिना गरेको महन्थ दासको गम्भीर आरोप छ । गुठी संस्थानले सुदर्शन दास महन्थ रहेको विरपुर कुटीबाट राधाकृष्ण भगवानको मन्दिर हटाएर जग्गा बेचिएको बताए । महन्थ दासका अनुसार प्रशासनले भूमाफियाहरूलाई कारबाही गर्न कुनै चासो देखाएको छैन । गुठी प्रशासकहरूकै मिलेमतोमा धार्मिक सम्पत्ति लुट्ने कार्य भइरहेको उनको आरोप छ । यदि प्रशासन र सरोकारवाला निकायहरूले बेलैमा कदम नचाले जनकपुरधामको सम्पूर्ण धार्मिक सम्पदा इतिहासकै पानामा सीमित हुने देखिन्छ ।






