चार युरोपेली राष्ट्रद्वारा भारतलाई स्थायी यूएनएससी सदस्यताका लागि समर्थन



एजेन्सी, असोज ६ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (यूएनएससी) मा भारतको स्थायी सदस्यताको दाबीलाई मध्य युरोपका चार राष्ट्रले समर्थन गरेका छन् । हंगेरी, पोल्यान्ड, स्लोभाकिया र चेक गणतन्त्र सम्मिलित भिसेग्राड समूह (भी–४) ले न्यूयोर्कमा भएको पहिलो भी–४–भारत विदेशमन्त्रीस्तरीय बैठकका क्रममा भारतको दाबीलाई समर्थन गरेको हो ।

बैठकमा स्लोभाकियाका विदेशमन्त्री जुराज ब्लानारले ग्लोबल साउथको महत्वपूर्ण मुलुक तथा इन्डो–प्यासिफिक क्षेत्रमा उदीयमान शक्तिका रूपमा भारतलाई सुरक्षा परिषद्को स्थायी सदस्यका रूपमा स्थान दिनुपर्ने धारणा राखे । उनले भी–४ का चारै देश भारतको स्थायी सदस्यताको पक्षमा रहेको बताएका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरले पहिलो भी–४–भारत बैठकलाई ‘ऐतिहासिक अवसर’ का रूपमा वर्णन गरेका छन् । उनका अनुसार बैठकमा राजनीतिक, आर्थिक, प्रविधि, नवप्रवर्तन, रक्षा, अन्तरिक्ष, कनेक्टिभिटी तथा जनस्तरको सम्बन्धलगायत विषयमा छलफल भएको थियो ।

बैठकमा भारत र भी–४ राष्ट्रबीच विदेशमन्त्रीस्तरीय वार्ता प्रत्येक वर्ष गर्ने तथा वार्षिक व्यापार मञ्च स्थापना गर्ने सहमति भएको जयशंकरले बताएका छन् । प्रविधि तथा नवप्रवर्तन, रक्षा र अन्तरिक्ष क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको छ ।

भारतले लामो समयदेखि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को संरचनामा सुधार गर्दै स्थायी सदस्य संख्या विस्तार गर्नुपर्ने माग गर्दै आएको छ । हाल सुरक्षा परिषद्मा अमेरिका, चीन, रूस, फ्रान्स र बेलायत गरी पाँच स्थायी सदस्य छन् भने १० अस्थायी सदस्य रहने व्यवस्था छ ।

भारतले सन् २०२८–२९ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यताका लागि समेत आफ्नो उम्मेदवारी अभियान अघि बढाएको छ । स्थायी सदस्यताको विषय भने सुरक्षा परिषद् सुधारसम्बन्धी व्यापक अन्तर्राष्ट्रिय वार्तासँग जोडिएको छ ।

भी–४ बैठकमा युक्रेन युद्ध तथा खाडी क्षेत्रमा विकसित घटनाक्रमलगायत अन्तर्राष्ट्रिय विषयमा पनि विचार आदानप्रदान भएको थियो । भारत र चार युरोपेली राष्ट्रबीच राजनीतिक, आर्थिक तथा अन्य क्षेत्रमा सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने विषयमा समेत समझदारी बनेको जनाइएको छ ।

प्रकाशित मिति: २०८३ आश्विन ६, मंगलवार ०८:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको