एमाले लालबन्दी नगर अध्यक्षमा कार्की



मलंगवा, चैत २५ । नेकपा एमाले लालबन्दी नगर कमिटीको अध्यक्षमा उज्वलकुमार कार्की विजयी भएका छन् । प्रतिस्पर्धी प्रेमप्रसाद आचार्य (उमेश) लाई ४७ मतले पराजित गर्दै कार्की तीन वर्षका लागि एमाले लालबन्दीको अध्यक्षमा चुनिएका हुन् । लालबन्दी नगरपालिका–६, का पूर्व वडाध्यक्ष रहेका कार्की १६५ मत प्राप्त गरी पार्टीको नगर अध्यक्षमा निर्वाचित हुँदा प्रतिस्पर्धी लालबन्दी नगरपालिका–१७, का पूर्व वडा सदस्य रहेका आचार्यले भने ११८ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

एमाले लालबन्दी नगर कमिटीको पदाधिकारी चयन गर्न हिजो भएको मतदानमा ३०९ जना प्रतिनिधिमध्ये २९९ जनाले मत खसालेका थिए । अध्यक्षमा १६ मत बदर भएको निर्वाचन समितिका सदस्य अच्युत अधिकारीले उज्यालो अभियानलाई जानकारी दिए । पाँच जना पदाधिकारी चयन गर्न भएको निर्वाचनमा अध्यक्ष कार्कीबाहेक अरु चार जना पदाधिकारी आचार्यको प्यानलबाट निर्वाचित भएका हुन् । उपाध्यक्षमा हेमबहादुर पौडेल (भीम) ११७ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी द्वय दिनेशप्रसाद मैनालीले ९५ र देवीप्रसाद अधिकारीले ५५ मत प्राप्त गरेका छन् ।



यस्तै सचिवमा वर्षाकुमारी लामा १६७ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी उज्वल कार्कीले १११ मत प्राप्त गरे । त्यसैगरी सह–सचिव पुरुषमा बिक्रम खड्का सर्वाधिक १७२ मत र सह–सचिव महिलामा नैनकुमारी चौधरी १४२ मत प्राप्त गरी बिजयी भएका छन् । खड्काका प्रतिस्पर्धी मेमकुमार लामाले ९९ र चौधरीकी प्रतिस्पर्धी गायत्री महत थापाले १२८ मत प्राप्त गरेका छन् ।

एमाले लालबन्दीको दोस्रो नगर अधिवेशनको उद्घाटन अस्ती शनिबार नै भएको थियो । ६१ जना सदस्य सर्वसम्मत चयन भएपनि पाँच जना पदाधिकारीमा सहमती जुट्न नसकेपछि हिजो दिउँसो लालबन्दी नगरपालिका–६, स्थित मदन आश्रीत भवनमा मतदान गरेर टुुङ्गो लगाइएको हो ।

पदाधिकारीमध्ये कोषाध्यक्ष निर्वाचित कमिटीले मनोनित गर्ने पार्टीको विधानमा उल्लेख छ । पाँच जना पदाधिकारी चुन्न गएसाँझ ५ बजेसम्म मतदान गराएर राति साँढे ९ बजे अन्तिम मतपरिणाम घोषणा गरिएको निर्वाचन समितिका संयोजक कमल पौडेलले उज्यालो अभियानसँग बताए ।

लालबन्दीसँगै उद्घाटन भएर यहाँ मतदानबाट कमिटी चयन भए पनि हरिपुरमा भने सर्वसम्मतको नाउँमा एक पक्षले बहिष्कार गर्दा गर्दै अर्को पक्षले एकलौटी ढङ्गले नगर कमिटी घोषणा गरेको भन्दै विरोध भइरहेको छ ।

प्रकाशित मिति: २०८१ चैत्र २५, सोमबार ०८:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको