सिरहामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



जनकपुरधाम, चैत २७ । सिरहामा आज विहान दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुइजनाको मृत्यु भएको छ । भने एकजना गम्भीर घाइते भएका छन् ।

जिल्लाको धनगढीमाई नगरपालिका–७ मा बुधबार बिहान दुइवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेहरुमा सुखीपुर नगरपालिका–८ का ३० वर्षीय जयकुमार गिरी र कल्याणपुर नगरपालिका–१२ का २८ वर्षीय सन्तोषकुमार यादव रहेको सिरहा प्रहरी प्रवक्ता विरेन्द्र पासवानले बताए ।

उनका अनुसार दुर्घटनामा दुबै जना गम्भीर घाइते भएका थिए, त्यसपछि उपचारको क्रममा मृत्यु भएको हो । गोलबजारबाट कसाहातर्फ आइरहेको बा ४४ प १५६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको स ५ प ७७४० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुइवटै मोटरसाइकलको चालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यता मोटरसाइकलमा पछाडि बसेका सिरहा नगरपालिका–१२ का २४ वर्षीय सिकेन्द्र यादव भने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको टाउको, हात र खुट्टामा चोट लागेको छ । गम्भीर घाइते यादवको धनगढीमाई नगरपालिकाको मुसहर्नियास्थित आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: २०८१ चैत्र २७, बुधबार १७:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको