वीरगंज, चैत ३० । हनुमान जयन्तिको शोभा यात्राको क्रममा वीरगंजमा दुई समुदायबीच भएको झडप उग्र भएपछि पर्सा प्रशासनले विरगंज उपमहानगरमा १८ घण्टे कफ्र्यु आदेश जारी गरेको छ ।
प्रशासनले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र शनिबार साँझ ६ः३० बजे देखि आइतबार दिउँसो १२ बजे सम्म निषेधाज्ञा लागू गरेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको आदेशअनुसार कुनै पनि व्यक्ति वा समूहले उक्त क्षेत्रभित्र आवतजावत गर्न, सभा, जुलुस, प्रदर्शन र घेराउ गर्न सक्ने छैनन् ।
प्रशासनले तोकेको निषेधाज्ञा क्षेत्र यसप्रकार छ ः
पूर्वतर्फः भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१५
पश्चिमतर्फः सिर्सिया पुल– वीरगञ्ज महानगरपालिका–२५
उत्तरतर्फः गण्डक चौक– वीरगञ्ज महानगरपालिका–१४
दक्षिणतर्फः शंकराचार्य गेट– वीरगञ्ज महानगरपालिका–१६
उक्त परिधिभित्र कडा सुरक्षा व्यवस्था मिलाइएको छ । सुरक्षाकर्मीहरूलाई व्यापक परिचालन गरिएको छ भने सर्वसाधारणलाई अनावश्यक रूपमा बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । सम्भावित झडप रोक्नका लागि प्रशासनले अग्रिम सुरक्षा सतर्कता अपनाएको छ ।
हनुमानको जन्मजयन्तीको अवसरमा निकालिएको ¥याली इदगाह चौक छप्पैया पुग्नेबित्तिकै झडपमा परिणत भएको थियो । झडपका कारण छपकैया चौक निकै बेर तनावग्रस्त बनेको थियो ।
झडपको क्रममा केही पसलमा तोडफोड एवं आगजनी समेत भएको छ । सो क्रममा पार्किङ्ग गरि राखिएको केही मोटरसाइकलमा समेत आगजनी भएको छ।






