मनोज माझी
राजविराज, बैशाख ५ । प्रतिनीधीसभा सदस्य दिनेश कुमार यादवले आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्या, आवश्यक्ता र अगामी बजेटमा समावेश गराउन अतिआवश्यक देखिएका योजनाहरुबारे छलफल अभियान चलाएका छन ।
उनी सप्तरीको क्षेत्र नंं ३ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका हुन । “जनता संग साँसद” नाम दिएर उनले शुक्रवार आफ्नो निर्वाचन क्षेत्रको विष्णुपुर गाउँपालिकाबाट यस्तो अभियान थालेका हुन । सो क्रममा उनले अभियान क्रमिकरुपमा यस निर्वाचन क्षेत्रको सबै पालिकामा पुग्ने जानकारी दिए ।
“निर्वाचनका बेला मतदाता माझ पुग्दा धेरै समस्या र सुझावहरु प्राप्त भएको थियो, अभियानको सूरुवात गर्दै साँसद यादवले भने–अहिले जिम्मेवारीमा आईपुग्दा ती समस्याहरु मध्ये प्राथमिक्तामा राख्नु पर्ने विषय र आउनै लागेको अगामी बजेटलाई ध्यानमा राखी यसरी छलफलका लागी तपाईहरु माझ आएको हुँ ।”
कार्यक्रममा सहभागी अधिकाँश स्थानीयले सडक, खानेपानी, विजली, विद्यालय, मलखाद्य र सिंचाईका समस्या प्रमुख रुपमा उठान गर्दै समाधानका लागी पहल गर्न साँसद यादव समक्ष आग्रह गरेका छन ।
कार्यक्रममा तत्कालिन मलेकपुर गाविसका पुर्व अध्यक्ष सुरेन्द्र प्रसाद यादवले वडा नम्बर १ स्थित १८ बर्ष देखि निर्माणाधिन अवस्थामा रहेको खानेपानी टंकीको निर्माण कार्य सम्पन्न गरि संचालनमा ल्याउने तर्फ पहल गरिदिन आग्रह गरे ।
उनले तत्कालिन जमुनी मधेपुरा, मलेकपुर, कटैया र सिम्राहा सिंगियौन गरि ४ वटा गाविसमा शुद्ध खानेपनी पु¥याउने उद्देश्यले २०६४ साल देखि निर्माण थालिएको खानेपानी टंकी निर्माण नहुँदै जिर्ण बन्न लागेकोले त्यसलाई सुचारु गर्ने तर्फ सांसद यादवको ध्यानाकर्षण गराए ।
घोरदह, मुतनी, पाँची जस्ता सधै पानि बग्ने नदीबाट स्थायी रुपमा सिंचाई गर्न सकिने भएकाले त्यस्तो योजनाहरु अगामी बजेटमा समावेश गराउन उनले साँसद यादवलाई सुझाव समेत दिए । जनता माध्यमिक विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष चितरंजन यादवले भौतिक पुर्वाधारको अभावमा विद्यालयको प्राविधिक शिक्षा संचालनमा समस्या हुँदै आएकोले सुविधा सम्पन्न प्राविधिक शिक्षालय भवन र ल्याव निर्माण गर्नुपर्नेमा जोड दिए ।
विद्यालयका सेवानिवृत्त शिक्षक बमभोला प्रसाद यादवले शैक्षिक स्तरलाई माथि उठाउन विद्यालयको पुर्वाधार निर्माण आवश्यक रहेको तर यस प्रति स्थानिय सरकारले पनि चासो नदेखाएको गुनासो गरे । “विद्यालयमा प्राविधिक शिक्षा संचालनमा छ तर, उपयुक्त ल्याव छैन, त्यसले विद्यार्थीलाई समस्या भईरहेको छ” यादवले भने, “पुर्वाधार निर्माण र इन्जिनियरिंगको स्नातकतह सम्मको पढाई संचालन हाम्रो प्रमुख माग हो, यसको लागि पहल गरिदिनुस् ।”
विकास निर्माण प्रति स्थानियको चासो र गुनासो सुन्दै साँसद यादवले आम जनताबाट उठाईएका समस्याहरुलाई समाधानका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । उनले अवको केही दिन पछि सरकारले नीति तथा कार्यक्रम ल्याउने हुँदा छलफलमा उठेका विषयहरुलाई आउने बजेट मार्फत सम्बोधन हुनेगरि आफूले सम्बन्धित मन्त्रालयमा पहल गर्ने बताए । “विद्यालयको भवन निर्माण देखि सिचाई, सडक जस्ता पुर्वाधार प्रति स्थानियको चासो र गुनासो जायज हो, यसको लागि म सम्बन्धित निकायमा पहल गर्छु” साँसद यादवले भने ।
सयौं स्थानियको सहभागितमा भएको छलफलमा जमुनी मधेपुरा गाविसका पुर्व अध्यक्ष मौजेलाल यादव, सेवा निवृत्त शिक्षक भागवत यादव, विद्यालय व्यवस्थापनि समितिका पुर्व अध्यक्ष राजु यादव, जयनारायण यादव, प्रेमनारायण यादव सहितकाले आफ्नो क्षेत्रका समस्या बारे जानकारी गराउदै समाधानका लागी सुझाव सहित पहल गर्न आग्रह गरेका थिए ।






