ओम प्रकाश यादव
रौतहट , असोज २२ । चर्चित संगीत निर्देशक तथा गायक सन्तोष राज सहनी डा. सी.के. राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सचिवमा निर्वाचित भएका छन्।
वीरगञ्जमा हालै सम्पन्न जनमत पार्टीको महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सहनी पार्टीको केन्द्रीय सचिवजस्तो गरिमामय पदमा निर्वाचित भएका हुन्।
गायन क्षेत्रमा लामो समयदेखि सक्रिय सहनी केही वर्ष अघि मात्रै औपचारिक रूपमा जनमत पार्टीमा प्रवेश गरेका थिए। राजनीतिमा प्रवेश गरेको छोटो समयमै पार्टीको केन्द्रीय नेतृत्वमा महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्न सफल भएपछि उनको राजनीतिक यात्रालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
सहनी संगीत निर्देशक तथा गायकका रूपमा नेपाली, हिन्दी तथा भोजपुरी संगीत क्षेत्रमा परिचित नाम हुन्।
संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनले भारतका हिन्दी, नेपाली तथा भोजपुरी चलचित्र क्षेत्रका चर्चित कलाकारहरूसँग समेत लामो समय सहकार्य गरिसकेका छन्।
हिन्दी संगीत क्षेत्रका चर्चित गायक उदितनारायण झा, दीपा नारायण झा,कुमार सानु, जावेद अली खान, विनोद राठोड, साधना सरगम,अभिजीत भट्टचार्या, अनुराधा पौडवाल,अलका याग्निकलगायतका कलाकारसँग सहकार्य गरेका सहनीले भोजपुरी चलचित्र तथा संगीत क्षेत्रका सुपरस्टार दिनेशलाल यादव ‘निरहुआ’, खेसारीलाल यादव, पवन सिंह, रवि किशन, त्यस्तै नायिका अक्षरा सिंह, रानी चटर्जी,काजल राघवानी,शुभी शर्मा, नीलम गिरी, आम्रपाली दुबे लगायतका कलाकारका लागि समेत संगीत सिर्जना तथा काम गरेका छन्।
संगीतको क्षेत्रमा लामो अनुभव र भारतका चर्चित कलाकारहरूसँगको सहकार्यका कारण सहनीले कलाकारिता क्षेत्रमा आफ्नो बलियो पहिचान बनाइसकेका छन्।
गीत संगीतको क्षेत्रमा स्थापित भइसकेका सहनी अब भने कलाकारितासँगै राजनीतिमार्फत समाज र देश निर्माणमा योगदान पुर्याउने लक्ष्यका साथ अघि बढेको बताउँछन्।
सहनीका अनुसार कलाकारिताले आफूलाई समाजसँग नजिकबाट जोड्ने अवसर दिएको छ भने राजनीतिले जनताको समस्या, आवश्यकता र अपेक्षालाई नीतिगत तहबाट सम्बोधन गर्ने अवसर प्रदान गर्ने भएकाले आफू राजनीतिमा सक्रिय भएको बताए।
कलाकारिता र राजनीतिलाई सँगसँगै अघि बढाउने लक्ष्य लिएका सहनी जनमत पार्टीको केन्द्रीय सचिवमा निर्वाचित भएसँगै पार्टी संगठन निर्माण, जनताको आवाजलाई राजनीतिक तहमा उठाउने तथा देशमा सकारात्मक परिवर्तनका लागि योगदान गर्ने जिम्मेवारीमा पुगेका छन्।
कलाकारिताको क्षेत्रमा लामो अनुभव हासिल गरेका सहनीको राजनीतिक यात्राले जनमत पार्टीमा कला, संगीत र सिर्जनशील क्षेत्रबाट आएका व्यक्तिको सहभागितासमेत बढाएको देखिएको छ।
छोटो राजनीतिक यात्रामै केन्द्रीय सचिवजस्तो महत्वपूर्ण जिम्मेवारीमा पुग्नु उनका लागि व्यक्तिगत उपलब्धिसँगै कलाकारिता क्षेत्रका लागि पनि गौरवको विषय बनेको छ।



