सर्लाहीको अनाथालयमा बेलायतवासी नेपालीहरूको विशेष सहयोग



रौतहट, बैशाख १५ । बेलायतवासी नेपाली समुदायको सहयोगमा सर्लाहीको हरिवनस्थित शान्ति वाल आश्रममा विशेष सहयोग हस्तान्तरण गरिएको छ।

नेपालब्रिटेन डट कमको १७औं वार्षिकोत्सवको अवसरमा, लण्डनस्थित रिभर एकेडेमीमा अध्ययनरत छात्रा टिया आचार्यको सक्रियतामा संकलित आर्थिक सहयोगबाट प्राप्त शैक्षिक सामग्रीहरू आइतबार साँझ अबेर आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको हो।

अनाथालयमा आयोजित उक्त कार्यक्रममा नेपालब्रिटेन डट कमका अध्यक्ष चिरन्जीवी ढकालले शान्ति वाल आश्रमका बोर्ड अफ डाइरेक्टर मनिष बराललाई अनाथ बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्रीहरू हस्तान्तरण गरे।

जिल्ला प्रहरी प्रमुख रविन्द्र बहादुर सिंहले बालबालिकालाई अध्ययनसँगै सामाजिक सेवामा लाग्न प्रेरणा प्रदान गर्दै, विदेशमा रहेर गरिएको सानो सहयोगले पनि नेपालमा ठूलो प्रभाव पार्न सक्ने बताए।

गैरआवासीय नेपाली संघ ९एनआरएनए० का सहकोषाध्यक्ष कृष्ण तिमल्सिनाले आश्रममा रहेका बालबालिकाको उज्ज्वल भविष्यको कामना व्यक्त गरे।

कार्यक्रमको सभापतित्व गर्दै बोर्ड अफ डाइरेक्टर मनिष बरालले आश्रमप्रति बेलायतवासी नेपालीहरूको माया र योगदानप्रति आभार व्यक्त गरे। वार्ड अध्यक्ष कोकिलानन्द उप्रेतीले देशको माटो सम्झेर सात समुद्रपारिबाट सहयोग गरेको भन्दै नेपालब्रिटेन डट कमलाई धन्यवाद ज्ञापन गरे।

गत वर्ष अगस्टमा लण्डनस्थित स्ट्यानवेल टाउन हलमा आयोजित नेपालब्रिटेन डट कमको कार्यक्रममा संकलित आर्थिक सहयोगबाट पुस्तक, कापी, लत्ता कपडा, जुत्ता, मोजा, टावल, स्ट्यान फ्यान, खेलकुद सामग्री, ट्युटोरियल सामाग्री, हाउसकिपिङ्ग सामाग्री तथा खाद्य सामग्रीहरू प्रदान गरिएको हो।

कार्यक्रममा सर्भिस फर पिस वालगृहका संयोजक चेतन रिजाल, सशस्त्र प्रहरीका डीएसपी एकराज बुल्लाकोटी, प्रहरी निरीक्षक किशोर तामाङ, तथा समाजसेवी कुमार लुइँटेल र शान्ता पाण्डेको विशेष उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ बैशाख १५, सोमबार ०८:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको