राजविराज, बैशाख २० । राजविराजको प्राचिन मध्येका एक मुख्य हाटबजारस्थित श्री लक्ष्मी नारायण राधाकृष्ण मन्दिरमा चोरी गर्न पल्केका तथा मूलपुजारीलाई दुव्र्यबहार गर्ने दुई जना प्रहरी फन्दामा परेका छन् ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका ५ बस्ने २४ वर्षिय बिशाल दास र वडा नं. ६ बस्ने १८ वर्षिय राहुल मेहतर छन् । दुबै जनालाई मन्दिर समितिका पदाधिकारी र स्थानीयवासीको सहयोगमा प्रहरीले शनिबार घरबाटै पक्राउ गरेको हो ।
दुबै जनालाई मन्दिरमा चोरी तथा मूलपुजारी रत्नेश्वर झामाथी दुव्र्यहार गरेको आरोपमा पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरु गत चैत २६ गते र बैशाख १० गते उक्त मन्दिरमा भएको चोरी तथा मूलपुजारी झामाथी भएको दुव्र्यहारमा संलग्न रहेको प्रहरीको भनाई छ ।
मूलपुजारी झाको जाहेरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उक्त मन्दिरमा गत चैत २६ गते दानपेटिका तथा इस्कन राजविराजद्वारा संचालित पुस्तक पसल काउन्टरको ताल्चा फुटाएर हजारौं रकम चोरी भएको थियो । त्यसको दुई साता नबित्दै बैशाख १० गते पुनः मन्दिरको दानपेटिका र पुस्तक काउन्टरको ताल्चा फुटाएर दोश्रो पटक हजारौं रकम चोरी भएको थियो ।
उक्र चोरी घटनामा उनीहरुको संलग्नता सँगै आफूमाथी उनीहरुबाट दुव्र्यहार समेत भएको भन्दै मूलपुजारी झा प्रहरीमा पुगेका थिए । पक्राउ परेकाहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






