राजविराज, बैशाख ३१ । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा रहेको १० वटैवडामा भएको उच्चस्तरीय पोललाईट जडान कार्यमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादव सहित ८ जना विरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
यसरी आरोपपत्रमा समेटिएका मध्ये ७ जना कर्मचारी र एक जना निर्माण कम्पनीका प्रोपराईटर रहेका छन् ।
आर्थिक बर्ष २०७८/०७९ मा उक्त पालिकामा विजुलीको पोलमा उच्च स्तरीय पोललाईट जडान कार्यमा कमसल खालको स्ट्रीटलाईट खरिद गरि फर्जि बिल बनाई पुरै रकम भुक्तानी दिई भ्रष्टाचार गरेको भन्दै ८ जान विरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन् ।
अख्तियारद्वारा उक्त पालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवका साथै ईन्जिनियर कुलानन्द बिराजी, ईन्जिनियर रामाकान्त चौधरी, सवईन्जिनियर संजय कुमार यादव, योजना शाखामा शाखा अधिकृत विनोद कुमार ठाकुर, लेखापाल अनिता परियार र योजना शाखामा सहायकस्तर पाँचौँ तहमा कार्यरत निकिता चौधरी विरुद्ध आरोपपत्र दायर गरिएको छ ।
यस्तै उक्त निर्माण कार्यमा संलग्न रहेका जि.एस. निर्माण सेवा र कम्पनीका प्रोपराइटर बिजयकुमार यादव विरुद्ध पनि अख्तियारद्वारा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।
आरोपपत्रमा २०७८/०७९ मा नगरका सम्पूर्ण वडामा १४८ थान एलइडी स्ट्रीट लाइट जडान कार्यका लागि ४८ लाख २४ हजार ८ सय ७४ कबोल अंक भएको खरीद प्रक्रियामा सार्वजनिक खरीद ऐन, नियम र कार्यविधी विपरीत ठेकेदारसँगको बदनियतपूर्ण मिलोमतोमा आफूहरुलाई गैरकानुनी लाभ र नगरपालिकालाई हानी पु¥याउने काम भएको उल्लेख गरिएको छ ।
उक्त कार्यको गलत कार्य सम्पन्न प्रतिवेदन तयार गरि ३ लाख ९२ हजार २ सय निर्माण व्यवसायीलाई भुक्तानी भएको तथा लागत अनुमान तयार गर्दा अस्वभाविक मुल्य राखेको पाइएकोले मुल्य भन्दा बढी भुक्तानी भएको २१ लाख १२ हजार ३ सय ३० समेत गरी कुल २५ लाख ४ हजार ५ सय ३० रुँपैया हानी नोक्सानी भएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा १ बमोजिम कारवाही गर्न आरोप पत्र मार्फत माग समेत गरिएको छ ।
एकै साथ सात जना कर्मचारी निलम्बनमा परेपछी उक्र नगरपालिकामा अहिले हल्लीखल्ली मचेको छ ।






