हेटौंडा, भदौ ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलमा आन्तरिक विवाद चर्किएको छ। संसदीय दलका नेता उद्धव थापाले पार्टी तथा संसदीय दलको निर्णयविपरीत नेकपा एमालेका किरण थापामगरलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि विवाद बढेको हो।
थापाले प्रदेश प्रमुखसमक्ष एमालेका थापामगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै पत्र बुझाएका थिए। त्यसपछि राप्रपा बागमतीका बहुमत सांसदले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
राप्रपा संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पठाएको पत्रमा थापाले संसदीय दलको बैठक नै नबसी व्यक्तिगत लेटरप्याडमा समर्थन पत्र बुझाएको उल्लेख गरेकी छन्।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले गत साउन २० गते बागमती प्रदेशमा सरकार गठनका लागि हुने ‘गणितीय चलखेल’मा सहभागी नहुने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार प्रदेश संसदीय दललाई सरकार गठनको प्रक्रियामा सहभागी नहुन र कुनै दललाई समर्थन नगर्न निर्देशन दिइएको थियो।
त्यसैगरी, राप्रपा बागमती प्रदेश संसदीय दलको साउन २१ गते बसेको बैठकले पनि सरकार गठनको प्रक्रियामा सहभागी नहुने र कुनै दललाई समर्थन नगर्ने निर्णय गरेको तामाङको दाबी छ। उक्त बैठकको अध्यक्षता स्वयं दलका नेता थापाले गरेका थिए।
बैठकको निर्णय र माइन्युटसमेत प्रदेश प्रमुखलाई पठाइएको छ। पार्टी तथा संसदीय दलको निर्णयविपरीत व्यक्तिगत रूपमा समर्थन पत्र बुझाइएको भन्दै बहुमत सदस्यले थापामाथि प्रश्न उठाएका छन्।
यससँगै राप्रपा बागमतीमा विवाद सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा मात्र सीमित नरही संसदीय दलको नेतृत्वमाथि विश्वासको प्रश्नसम्म पुगेको छ।






