जनकपुरधाम, जेठ १२ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनी विरुद्ध किर्ते र जालसाजीको अभियोगमा धनुषा जिल्ला अदालतले पक्राउ पूर्जी जारी भएको जनाइएको छ ।
परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासमानको नक्कली हस्ताक्षर प्रयोग गरी कर्मचारी हटाउने पत्र उच्च अदालतमा पेश गरेको अभियोगमा अदालतले वृहत्तरका अध्यक्ष शितल साह विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । पासमानले आफैंले हस्ताक्षर नगरेको कागजात अदालतमा बुझाइएको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो ।
प्रहरी स्रोतका अनुसार विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणबाट हस्ताक्षर किर्ते भएको पुष्टि भएपछि जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको छ ।
साह अध्यक्ष नियुक्त भएयता निरन्तर विवादमा तानिँदै आएका छन् । स्रोतका अनुसार उनले केही कर्मचारीलाई गैरकानुनी रूपमा निलम्बन गर्नुका साथै डेढ वर्षदेखि तलबसमेत रोक्का गरेका छन् । कार्यालयमा नियमित कामकाजसमेत हुन नदिएको आरोप लाग्दै आएको छ।
परिषद् कर्मचारीहरूका अनुसार अध्यक्ष साहले कार्यकारी निर्देशक पासमानलाई पटक–पटक धम्की दिने, मनोमानी आदेश थोपर्ने र गैरकानुनी निर्णयका लागि दबाब दिने गरेका थिए । सार्वजनिक रूपमा सरल र व्यावहारिक मानिने पासमानप्रति गरिएको व्यवहारप्रति कर्मचारीहरू असन्तुष्ट देखिएका छन् ।
साहमाथि भारतीय नम्बर प्लेट भएको टाटा सुमोमा नेपाली नम्बरको किर्ते प्लेट राखेर चलाएको आरोपसमेत छ । प्रहरीले उक्त गाडी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको भए पनि अहिलेसम्म कारबाही प्रक्रिया अघि नबढाइएको भन्दै आलोचना भइरहेको छ ।
यस्तै, एक कर्मचारीले दिएको १ लाख रुपैयाँ सापटी फिर्ता नगरेको उजुरीसमेत जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता गरिएको छ । साह केही दिनदेखि मोबाइल फोन बन्द अवस्थामा रहेको र कार्यालय तथा सार्वजनिक कार्यक्रममा नदेखिएको कर्मचारीहरूले बताए । उनीमाथि मुद्दा परेपछि नेकपा (एकीकृत समाजवादी) परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका थिए । वृहत्तरका अध्यक्ष शितल साह विरुद्ध पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका छन् ।
धनुषा प्रहरीले साहलाई खोजी सूचीमा राखेको छ । किर्ते जालसाजीको मुद्दामा अनुसन्धानको हदम्याद दुई वर्ष हुने प्रहरीले जानकारी दिएको छ।






