गणतन्त्र दिवसमा जीतपरसिमरामा विभिन्न कार्यक्रम



रञ्जन यादब
बारा, जेठ १६ । गणतन्त्र दिवसको अवसरमा जीतपरसिमरा उपमहानगरपालिकाले विशेष कार्यक्रम आयोजना गरेको छ । उपमहानगरपालिकाले सलामी, झण्डोत्तोलन, सम्मान तथा पूर्णखोप युक्त पालिका घोषणा गर्दै उत्साहपूर्वक मनाएको छ ।

कार्यक्रमको विशेष आकर्षणस्वरूप उपमहानगरपालिकाले दुई जना कर्मचारी तथा तीन जना अवकाश प्राप्त महिला स्वयसेवीलाई नगदसहित सम्मान प्रदान गरेको छ । सम्मानित हुने कर्मचारीहरूमा वडा कार्यालयमा सचिवको रूपमा कार्यरत अधिकृत प्रदीप रेग्मी र स्वास्थ्य चौकीमा कार्यरत अहेव सन्जु चौधरी रहेका छन् ।



उनीहरूलाई जनही रू २५ हजार नगद र प्रशंसा पत्र प्रदान गरिएको थियो । त्यस्तै, अवकाश प्राप्त महिला स्वयसेवीहरूमा वडा नं. १७ की सेती माया तामाङ, वडा नं. १३ की राधा देवी हजामीन र वडा नं. २० की स्व. लक्ष्मी देवी यादव रहेकी छन् । तीनै जनालाई जनही रू. २० हजार नगद र प्रशंसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा नगर प्रमुख राजन पौडेलले गणतन्त्र लामो संघर्षबाट प्राप्त उपलब्धी भएको बताउँदै यसको रक्षा र सुदृढीकरणका लागि सबै नागरिक सक्रिय हुनुपर्नेमा जोड दिए ।

उनले गणतन्त्रले जनतालाई दासताको जीवनबाट मुक्त गर्दै सच्चा जनताको शासन स्थापना गरेको स्मरण गराए । नगर प्रमुख पौडेलले उपमहानगरपालिकामा बढ्दै गएको बेरुजुको चाङप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुधारात्मक कदम चालिने प्रतिबद्धता समेत व्यक्त गरे । सहभागी सम्पुर्णले पुर्णखोप सुनिश्चितता तथा दिगोपनाकोलागि हस्ताक्षर गरी प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा उप प्रमुख भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाँई, नेकपा एमालेका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक साह ठकुरी, माओवादी केन्द्रको नगर अध्यक्ष प्रेम बराल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०८२ जेष्ठ १६, शुक्रबार ०७:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको