राजविराज नगरपालिका कार्यालय अगाडि नौलो किसिमको आन्दोलन



मनोज माझी
राजविराज, जेठ १८ । राजविराज नगरपालिका कार्यालयमा आईतवार निकै फरक दृश्य देखिएको छ । विहान १० बजे कार्यालय खुल्न साथ मुल गेट मै कोही तरकारी काट्दै थिए भने कोही चामल धुदै त कोही २÷२ वटा ग्यास चुल्होमा कराही चढाएर खाना पकाउने तयारी गर्दै थिए ।

झट्ट हेर्दा लाग्थ्यो सार्वजनिक विदाको दिन हो र कर्मचारीहरु पिकनिक मनाउने तयारीमा छन । काम विषेशले आएका कतिपय सेवाग्राही पनि अलमलमा परे । उनीहरु एक आपसमा कुरा गर्दै वास्तविक्ता बुझ्ने प्रयास गर्न थाले । बुझ्दै जाँदा वास्तविक्ता भने अर्कै रहेको खल्यो । नगरपालिकाको मुल गेट मै सप्तरीको बोदेर्बसाईन नगरपालिकाबाट आएका स्थानीयले अनिश्चितकालिन धर्नाका लागी यस्तो तयारी गरेका रहेछन ।



३/४ वटा ट्याक्टरमा खाना तथा आवश्यक बन्दोवस्तीका समान सहित आएका उनीहरु मागँ पुरा नभए सम्म घर नफर्किने अडानमा छन । त्यसैले एक महिनाको राशन पानी समेत बोकेर आएको स्थानीयले बताए । गत शुक्रवार देखी नै नगरपालिकाको कार्यालयमा धर्ना थालेका उनीहरुले निरन्तरता दिदै दैनिक गाउबाट मान्छे ओसार्दै थप दबाव सृजना गर्ने बताएका छन ।

राजविराज नगरपालिकाको गाडीको ठक्करबाट घाईते भएका बोदेवर्साइन नगरपालिका १ निवासी १६ वर्षिय राजेश कुमार यादवको उपचार खर्च माग्दै यसरी आन्दोलनलाई निरन्तरता दिइएको उनका काका बैद्यनाथ यादवको भनाई छ ।

१६ वर्षिय राजेश कुमार यादव गत माघ १ गते राजविराज नगरपालिकाको स.१झ. ४८१ नं को स्कारपियोको ठक्करबाट गम्भिर घाइते भएका थिए । बिदाका दिन राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको सो गाडीमा राजविराज नगरपालिका वडा नं. २ का वडाअध्यक्ष अरुण यादवसहितका केही व्यक्ति सवार थिए ।

ठक्करबाट हात र खुट्टा भाचिनुका साथै टाउँकोमा गम्भिर चोट लागेका उनलाई प्रहरीले उपचारका लागि सोही दिन बिराटनगरस्थित बिराट नर्सिङ्ग होममा भर्ना गराएको थियो ।

उक्त गाडी भने चालक बिनोद साहले चलाइरहेको नगरपालिका श्रोतले जनाएको छ । उपचारका क्रममा ९२ दिनपछी होसमा आएका भान्जाको उपचार वापतको २५ लाख मध्ये नगरपालिकाले अहिलेसम्म २ लाख रुँपैया मात्र दिएको मामा दिपेश यादवको भनाई छ । बाँकी २३ लाख रुँपैया बुझाउन नसक्दा अस्पतालले डिस्चार्ज गर्न नमानेको र बाध्य भई आन्दोलनमा उत्रिनु परेको उनले बताए । उनले माग पुृरा नभए आफुहरु नगरपालिका परिसर मै आगो लगाएर आत्मदाह गर्ने चेतावनी समेत दिएका छन ।

नगरपालिकाले विभिन्न बहाना देखाउँदै थप रकम दिन आलटाल गर्ने गरेको र आफुसँग त्यत्रो ठूलो रकम तिर्ने हैसियत नहुँदा छोरालाई घर ल्याउन नसकिएको बुवा रघुनाथ यादवले लाचारी सुनाए ।

बोदेबरसाइन नगरपालिकाबाट किशोरका आफन्त र ५५ महिला सहित करिब १ सय २० जनाको संख्यामा आएका स्थानीयले मूल गेटमै धर्ना सूरु गर्दा नगरपालिकाको सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएको छ ।

यसैबीच नगरपालिकामा काम गर्न असहज स्थिती उत्पन्न भएपछी कार्यवाहक नगरप्रमुख इसरत परवीनले चासो देखाउदै आइतवार साँझ नै आन्दोलनकारी संग वार्ता गरेकी छिन । उनले बार्ता सहमतीमा पुगेको जानकारी दिइन । उनले विराटनगर स्थित बिराट नर्सिङ्ग होममा उपचार खर्च बापतको बाँकी रकम तत्काल नगरपालिकाले व्यवस्थापन गरी भोली (सोमवार) “बन्धक” अवस्थामा राखिएका किशोरलाई ल्याई आफन्तको जिम्मा लगाउने सहमती बनेको बताईन । वार्तामा उनीसंगै वडाअध्यक्ष एवं प्रवक्ता जयनाराण मण्डल, वडाअध्यक्ष शशी चौधरी लगायत सहभागी थिए ।

यता विदाका दिन वडाअध्यक्षले निजी प्रयोजनका लागी लगेको गाडी दुर्घट्नामा पर्दा निजबाट नै क्षतीपुर्ती भराउनु पर्नेमा नगरपालिकाले आफ्नो कोषबाट तिर्न लागेको भन्दै स्थानीयले आलोचना गरेका छन ।

प्रकाशित मिति: २०८२ जेष्ठ १८, आईतवार १८:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको