जनकपुरधाम, जेठ १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका विभिन्न सडकहरूको शिलान्यास गर्न आज जनकपुरधाम आउने भएको छ । मधेश सरकारको ६४ निर्वाचन क्षेत्रमा दोस्रो चरण अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्र पाँच किलोमिटर कालोपत्रे सडक शिलान्यास गर्न उनी आज जनकपुरधाम आउने जनाइएको छ ।
मधेश प्रदेशका ८ वटा जिल्लाका प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा ५ किलोमिटरको दरले ३ सय २० किलोमिटर नयाँ निर्माण हुने कालोपत्रे सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
१२ अर्ब ७० करोडको लागतमा बन्ने सो सडकको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आज १ बजे डिजिटल प्रविधि मार्फत गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मधेश प्रदेशका संसदीय दलका नेता तथा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले जानकारी दिए ।
प्रधानमन्त्रीले शिलान्यास गर्ने सडकको निर्माण कार्य ३ वर्षको अवधिमा पुरा गरिने मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री यादवले जानकारी दिए । मन्त्री यादवले सडक निर्माणका लागि स्रोतको सुनिश्चितता भएर निर्माणको प्रक्रिया अगाडि बढेपछि शिलान्यास गरिन लागेको र सडकको ठेक्का प्रक्रिया सम्बन्धित जिल्लाका पूर्वाधार कार्यालयहरूमा भइसकेको जानकारी दिए । पहिलो चरण अन्तर्गत ६४ निर्वाचन क्षेत्रमा ३ सय २० किलोमिटर सडक निर्माण अगाडी बढाएकोमा त्यस मध्ये २ सय किलोमिटर सडकको निर्माण भइसकेको मन्त्रालयले जनाएको छ ।
शिलान्यास हुने सडकहरू मध्ये गाउँ क्षेत्रमा फरक र सुहाउँदो प्रविधि तथा गाउँ बाहिर स्फाल्ट प्रविधिको कालोपत्रे गरिने भएको मन्त्रालयले जनाएको छ । सडकको चौडाई साढे पाँच देखि ७ मिटरसम्मको हुने मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
यसका साथै मन्त्रालयले ८ वटै जिल्लाका ६४ प्रदेश सभाका निर्वाचन क्षेत्रमा १–१ वटा पक्की पुलको निर्माण गरिने गरि प्रक्रिया अगाडि बढाउनुका साथै सडक निर्माण गर्दा जलवायु परिवर्तनबाट परेको प्रभावको असरलाई न्यून गर्ने गरि काम भइरहेको जनाएको छ ।






