जनकपुरधाम, जेठ १९ । आज देशभरिका सार्वजनिक यातायातका साधन बन्द भएको । यातायात व्यवसायीहरुको आह्वानमा सार्वजनिक यातायातका साधन बन्द हुँदा यात्रीहरु मर्कामा परेका छन् ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरुले आजआज देशभरिका सार्वजनिक यातायातका साधन नचलाउँदा यात्रीहरु मर्कामा परेका हुन् ।
यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले कालो नम्बर प्लेटका सबै यातायातका साधन सातवटै प्रदेशमा नचलाएको बताए ।
काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । काठमाडौं उपत्यकाका सडकहरुमा निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु फाट्टफुट्ट चलेको देखिएको छ । तर सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरु चलेका छैनन् । सधैं व्यस्त हुने काठमाडौंका सडकहरु आज बिहानैदेखि सुनसान देखिन्छन् ।
देशभरिका सार्वजनिक यातायात बन्द हुँदा बस स्टपहरुमा यात्रीहरु गाडीको प्रतिक्षा गरिरहेको देखिन्छ । कोही पठाओमा चढेर र कोही पैदलै हिँडेर गन्तव्यमा गइरहेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अघिल्ला दिनको तुलनामा आज सार्वजनिक सवारी साधन कम मात्र चलेको जनाएको छ ।






