गणतन्त्रात्मक व्यवस्थाका कमजोरीलाई सुधार्दै यही व्यवस्था टिकाउँछौं: गगन



काठमाडौँ, जेठ २० । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका कमजोरीलाई सुधार्दै यही व्यवस्था टिकाउने बताएका छन्।

बाँकेको नेपालगञ्जमा मंगलबार आयोजित पार्टीको क्षेत्रीय सम्मेलनमा बोल्दै महामन्त्री थापाले गणतन्त्रात्मक व्यवस्थाका कमजोरीलाई सुधार गर्दै नेपाली कांग्रेस र नेकपा (एमाले) ले गरेका ७ बुँदे बाचाअनुसार तत्काल संविधान संशोधनका लागि काम सुरू गर्नुपर्ने बताए। गत वर्ष असार १७ गते कांग्रेस र एमालेबीच संविधान संशोधनलगायत ७ बुँदे सहमति भएको थियो। उक्त सहमतिअनुसार संविधान संशोधनको प्रक्रिया अघि बढ्न सकेको छैन।

‘कांग्रेस र एमालेले ७ बुँदे सहमति गर्दा संविधान संशोधन गर्छौं भनेर बाचा गरेका थियौं,’ महामन्त्री थापाले भने, ‘तर आज हाम्रो बाचा पूरा गरिरहेका छैनौं। कांग्रेस र एमाले सरकार चलाउँदै गर्दा यति मस्त भएका छौं कि संविधान संशोधनको मुख्य बाचा बिर्सियौं।’

उनले ७ बुँदे सहमतिअनुसार अहिलेको अलमलबाट बाहिर निस्केर संविधान संशोधन प्रक्रियाबारे छलफल गरिहाल्नुपर्ने बताए। ‘अलमलबाट बाहिर निस्किएर कांग्रेस र एमालेले गरेका ७ बुँदे बाचाअनुसार संविधान संशोधनको कार्य तत्काल सुरू गर्नुपर्छ,’ उनले भने, ‘साथै नागरिकलाई यही व्यवस्था टिक्छ र टिकाउँछौं। व्यवस्थामा रहेका कमजोरी सुधार्छौं भन्नुपर्छ। व्यवस्थामा रहेका कमजोरी सुधार्ने भनेको संविधान संशोधनबाटै हो।’

प्रकाशित मिति: २०८२ जेष्ठ २०, मंगलवार १६:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको