जनकपुरधाम, जेठ २२ । मधेश सरकारको विकास योजना बारे छानविन गर्न प्रदेश सभाले संसदीय छानविन विषेश समिति गठन गरेको छ ।
प्रदेश सभाको आजको बैठकले प्रदेश सभा कार्यसंचालन नियमावली २०७५को नियम १५२ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबैदलको सहभागितामा विशेष समिति गठन गरेको हो ।
सभामुख रामचन्द्र मण्डलले सरकारको विकास योजना बारे सत्य तथ्य पत्ता लगाउन सर्वदलिय सहमति अनुरुप विशेष छानविन समिति गठन भएको सभालाई जानकारी गराएका थिए ।
विशेष छानविन समितिमा प्रदेशसभा सदस्यहरु केशव राय , कुमरकान्त झा, किरण कुमारी, शम्भु कुमार साह, रहबर अन्सारी, रविता प्रधान, कनिष्क पटेल, उर्मिला देवी सिंह, कन्चन विच्छा, र विमला अन्सारी रहेका छन ।
चालु आर्थिक वर्षको मधेश सरकारको विकास योजना हरुमा व्यापक अनियमितता भएको भन्दै प्रतिपक्षीदलहरुले विरोध गर्दै आएका थिए । मधेश प्रदेश सभाको पछिल्लो अधिवेशनमै छानविन समिति गठन गर्ने सहमति भएपनि सत्तापक्षले समितिमा बस्ने सदस्यहरुको नाम दिन आनाकानी गरेपछि समिति गठन हुन सकेको थिए ।
चालु अधिवेशनको पहिलो दिनर्मै प्रमुख प्रतिपक्षीदल जनता समाजवादी पार्टी नेपाल सहितका प्रतिपक्षीहरुले छानविन समिति गठन नभए सम्म सदन चल्न नदिने अडान लिएपछि चालु अधिवेशनको पहिलो बैठक पाँच मिनेटमै स्थगित भएको थियो ।
सरकारले विकास निर्माणको योजनामा व्यापक चलखेल गरेको योजनाको चिठ्ठीहरु खरिद विक्री गरेको आरोप प्रतिपक्षीदलहरु लगाउदै आएको छ ।
छानविन समिति गठन गर्न सत्तारुढ दल सहमत भएपछि प्रतिपक्षीदलहरु सदन चल्न दिएका हुन ।






