लुटपाट र कुटपिट गर्नेउपर कार्यवाही नभएसम्म काममा नफर्कने चेतावनी



वृजमान तामाङ
राजविराज, जेठ ३० । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाइ समिति राजविराज नगरपालिका आबद्ध कर्मचारीहरुले कर्मचारी उपर कुटपिट,गाली गलौजगर्नेहरुमाथि कानूनी कारवाही नभएसम्म काममा नफर्किने चेतावनी दिएको छ । समितिद्वारा राजविराजमा पत्रकार सम्मेलन गर्दै लुटपाट तथा कुटपिट गर्नेमाथि कानूनी कारबाही, सुरक्षाको ग्यारेन्टी तथा कार्यालयमा कामकाज गर्ने बाताबरणको प्रत्याभूति नभएसम्म काममा नफर्किने चेतावनी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै कर्मचारीहरुले लुटपाट,कुटपिट तथा तोडफोडमा संलग्नहरुलाई कानूनी दायरा ल्याइ न्यायको लागि सम्बन्धित सरोकारवाला निकायसँग माग जोडदार माग गरे ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाइ समिति राजविराजका अध्यक्ष कल्पना देवले कर्मचारीहरू असुरक्षित रहेकोले सुरक्षित वातावरणको ग्यारेन्टी नहुन्जेल सम्म काममा नफर्कने बताईन। उनले घटनाका दोषिहरुमाथी कारवाही, क्षतिपुर्ति तथा कर्मचारीको सुरक्षाको ग्यारेन्टी नगराएसम्म नगरपालिका कार्यालय तथा मातहातका कार्यालयबाट अति आवश्यक सेवा वाहेकका सम्पूर्ण सेवा वन्द राखी संघर्षका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिइन् ।

जेठ २७ गते मंगलबारका दिन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको हाजरी गराउने सम्बन्धमा विवाद भइरहेको बेला राजविराज नगरपालिकाका निलम्वित मेयर भिमराज यादव, राजविराज नगरपालिकाका योजना शाखा प्रमुख मनोज कुमार यादव, आन्दोलनकारी सुधिर यादव लगायतका व्यक्तिहरुको समूहले राजविराज नगरपालिकाका कर्मचारीहरु शान्तिपूर्वक रुपमा वारुणयन्त्रको छेउमा उभिरहेको वेला पूर्वग्राही तथा सुनियोजित रुपमा गालीगलौज तथा कुटपिट लुटपाट तथा इन्जिनियर रविन्द्र।यादवको। घरमा पुगेर अभद्र व्यवहार गरेको पत्रकार सम्मेलनमा उनले आरोप लगाइन्।

ईकाई अध्यक्ष देवले आफुसहित लेखा अधिकृत शत्रुधनलाल दास र शहरी स्वास्थ्य क्लिनिकको अ।हे।ब। संतोष कुमार दासलाई संघातिक आक्रमण गरी गाली गलोज सहित सडकमा घिसारी ज्यान मार्ने धम्कीसहित निर्घात कुटपिट गरेको जानकारी दिइन् ।

लेखा अधिकृत शध्रुधन लाल दासले नगरपालिकाका काम गर्न असुरक्षित महसुस भएकोले सुरक्षाको ग्यारेन्टी नहुन्जेल सम्म काममा नफर्किने बताए। उनले अफुमाथि साँघतिक हमला गरी सुनको सिक्री समेत लुटपाट गरेको आरोप लगाए।

घटनाले हामी सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएको र निर्धक्क भई जनताको सेवा प्रवाह गर्ने अवस्था नभएको उनको भनाइ छ । उनले दोषी उपर कानूनी कारबाही,सुरक्षा व्यवस्था तथा काम गर्ने बाताबरण नभएसम्म काममा नफर्किने बताए ।

आन्दोलनरत कर्मचारीहरुले घटनाको दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण बनाउन एवम् भय रहित वातावरणमा सेवा प्रवाह सुनिश्चितता गराउन सम्बन्धित निकायसँग आग्रह गरे ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाइ समिति राजविराज नगरपालिकाकी अध्यक्ष देवको नेतृत्व गएका नगरपालिकाका कर्मचारीहरुले शुक्रबार यी मागहरु अगाडि सार्दै प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

प्रकाशित मिति: २०८२ जेष्ठ ३०, शुक्रबार १७:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको