श्याम कुमार ठाकुर
सिरहा, असार ३ । कंचनपुर-कमला फोरलेन सडक निर्माणको काममा संलग्न निर्माण कम्पनीको लापरवाहीका कारण स्थानीयवासीहरू आक्रोशित भएका छन्। पिच गरिएको सडकलाई काटेर लामो समयदेखि अलपत्र अवस्थामा छोडिँदा त्यसले दुर्घटनाको जोखिम बढाएको स्थानीयको गुनासो छ।
स्थानीयहरूका अनुसार, निर्माण कम्पनीले कंचनपुर-कमला फोरलेन सडक कटिङ गरेपछि पुनः मर्मत नगरी छोडेकाले सडकमा खाल्डाहरू बनेका छन्। ती खाल्डाहरूले गाडी गुड्नसमेत मुस्किल पारेका छन् भने पैदलयात्रुहरूका लागि समेत जोखिमपूर्ण बनेका छन्।
“सडक पिच गरेर राम्रो भएको थियो, तर अहिलेको अवस्थाले झन समस्या बनाएको छ,” एक स्थानीयले बताए। “रातको समयमा त अझै खतरनाक हुन्छ।”
यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै स्थानीयले सडक मर्मत कार्य तत्काल अघि बढाउन माग गरेका छन्। यता, निर्माण कम्पनी वा जिम्मेवार निकायबाट भने अहिलेसम्म औपचारिक प्रतिक्रिया आएको छैन।








