रुपनी गाउँपालिकामा तीन दिवसीय निशुल्क आँखा शिविर



वृजमान तामाङ
राजविराज, असार ४ । सप्तरीको रुपनी गाउँपालिकामा तीन दिवसीय निशुल्क आँखा शिविर संचालन गरिएको छ । नेपाल नेत्र ज्योति संघ सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा रुपनी गाउँपालिकाले निशुल्क आँखा शिवर आयोजना गरेको हो ।

विभिन्न वडाको छुट्टाछुट्टै स्थानमा तीन दिनसम्म संचालन हुने शिविरको पहिलो दिन  बुधबार रुपनी गाउँ पालिका ६ स्थित माद्यामिक विद्यालय तेरहौतामा संचालन गरिएको थियो ।

रुपनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बद्री नारायण सरदारको अध्यक्षतामा आयोजित शिविर उद्घाटन गर्दै प्रमुख अतिथि रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले पालिकाबासीको आँखाको समस्यालाई मध्यनजर गर्दै शिविर संचालन गरिएको बताए । उनले शिविरलाई उपयोग गर्दै जतिसक्दो धेरै सेवा लिन पालिकाबासीलाई आग्रह गरे । सडक ढलान, भवन निर्माणमात्र विकास नभएको भन्दै  उनले देशको समग्र विकासका लागि सामाजिक विकास अपरिहार्य रहेको बताए ।

उनले शिविरमा निशुल्क जाँचको साथै निशुल्क औषधि तथा गम्भीर प्रकृतिका रोगीहरुलाई गाउँपालिकाले निशुल्क उपचारको व्यवस्था मिलाउने बताए ।

उक्त अवसरमा उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगीलगायतका स्वस्थ्य शाखा प्रमुख तथा स्वास्थ्यकर्मी, स्थानीय बुद्धिजीवी, समाजसेवीहरुको समेत उपस्थिति थियो ।

मधु देव, पुरुशोतम साह, विश्वनाथ महतो, सरोज यादव लगायतका सगरमाथा चौधरी आँखा अस्पताल लहानबाट खटिएका प्राविधिक टोलीले पहिलो दिन १ सय ९ जना महिला र ७२ जना पुरुष गरि १ सय ८१ जनाको आँखा जाँच गरेका थिए ।

त्यस मध्ये ४२ जनामा मोतियाविन्दु फेला परेको तथा ४ जनामा आँखामा मासु पलाएका रोगी फेला परेको रुपनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले जानकारी दिए ।

रुपनी गाउँपालिका अन्तर्गत  ६ वटै वडावासीलाई पायक पर्ने गरि वडा नम्बर ५ र ६ का लागि मावि तेरहौतामा, वडा नम्बर ३ र ४ का लागि मावि कटैया र वडा नम्बर १ र २ का लागि मावि नकटीरायपुरमा गरि ३ ठाउँमा तीनदिन निरन्तर शिविर संचालन हुने गाउँपालिका उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगीले जानकारी गराईन ।

प्रकाशित मिति: २०८२ असार ४, बुधबार १७:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको