एजेन्सी, असार ५ । इजराइल इरानबीच जारी युद्धमा इरानी सर्वोच्च नेता अयातोल्लाह खामेनीले आत्मसमर्पण नगर्ने बताएका छन ।
खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिँदै अमेरिकी सेनाले इजरायल विरुद्धको युद्धमा हस्तक्षेप गरे परिणाम नराम्रो हुने चेतावनी समेत दिएका छन ।
इजराइल इरानबीच जारी युद्धमा विषयमा खामेनीको सन्देश इरानको राष्ट्रिय टिभीमा एक प्रस्तोताले सुनाउदै भने , ’इरानको इतिहास जान्नेहरूलाई थाहा छ कि इरानीहरूले कसैको धम्की सुन्दैनन् । इजरायलले ठूलो गल्ती गरेको छ र यसको सजाय उसले भोग्नेछ । इरानले जबरजस्ती गरिएको शान्ति वा युद्ध स्वीकार गर्दैन ।’
अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणको सम्भावनाको बारेमा म के कारबाही गर्छु, म कारबाही गर्छु वा गर्दिन, त्यो आफुलाई मात्र थाहा रहेको बताए । खामेनीले आत्मसमर्पण गर्न अस्वीकार गरेको संचारकर्मीहरुको प्रश्नमा , ट्रम्पले भने – शुभकामना छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार समाजिक संजालमार्फत खामेनीलाई आत्मसमर्पण गर्न गरेको आग्रहको केही घण्टा नवित्दै खामेनीले एक्स मा एक पोस्ट मार्फत इजरायल विरुद्ध युद्धको घोषणा गरेका थिए ।
इरानी टेलिभिजनमाथि इजराइली कब्जा
इरान र इजरायलबीचको युद्ध सातौं दिन इजरायली ह्याकरहरूले बुधबार राति इरानको सरकारी टेलिभिजन सहित धेरै समाचार च्यानलहरू ह्याक गरेका छन् । ह्याक गरिएको टेलिभिजनहरु मार्फत इजरायलले इरानीहरुलाई विद्रोह गर्न आह्वान गरेको छ ।
ह्याकरहरूले २०२२ को विरोध प्रदर्शनका भिडियोहरू समेत प्रदर्शन गरेका छन । जसमा महिलाहरूले आफ्नो कपाल काटिरहेका छन् ।
आक्रमणको योजनालाई अमेरिकी अनुमोदन
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणको योजनालाई अनुमोदन गरेका छन्। अब हामी ट्रम्पको अन्तिम आदेशको पर्खाइमा छौ ं। द वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार आक्रमणको आदेश दिनु अघि, उनीहरू इरानले आफ्नो आणविक कार्यक्रम त्याग्छ कि गर्दैन भनेर हेर्न चाहन्छन्।
इन्टरनेटमाथि अस्थायी प्रतिबन्ध
इजरायलसँग जारी युद्धका बीच इरानका नागरिकहरूको जीवन र सम्पत्तिको रक्षा गर्न इन्टरनेटमा अस्थायी प्रतिबन्ध लगाइएको इरानको सञ्चार मन्त्रालयले घोषणा गरेको छ।
यसअघि लन्डनस्थित इन्टरनेट अनुगमन संस्था नेटब्लक्सले इरानमा लगभग पूर्ण रूपमा राष्ट्रिय इन्टरनेट ब्ल्याकआउट भएको दाबी गरेको थियो।
११०० भन्दा बढी स्थानमा आक्रमण
इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले बुधबार एक पत्रकार सम्मेलन गर्दै इजरायली वायुसेनाले ६ दिनमा १,१०० भन्दा बढी इरानी लक्ष्यहरूमा आक्रमण गरेको दावी गरेका छन ।
उनले भने, ’हामी आणविक खतरालाई निष्प्रभावी बनाउन व्यवस्थित रूपमा काम गरिरहेका छौं।’ हाम्रा आक्रमणहरूले इरानको ब्यालिस्टिक क्षेप्यास्त्र र हवाई रक्षा प्रणालीमा उल्लेखनीय क्षति पु¥याएको छ।
सेनाले इरानी मिसाइल लन्चर र अन्य सुविधाहरूमा आक्रमण भएको फुटेज पनि जारी गरेको छ।
इजरायली वायुसेनाले बुधबार केरमानशाहको एक सैन्य अड्डामा पाँचवटा इरानी एएच–१ हेलिकप्टरमाथि आक्रमण गरेको बताएको छ। यी हेलिकप्टरहरू इजरायली विमानमाथि आक्रमण गर्न गइरहेका थिए।
पछिल्लो ६ दिनमा यस युद्धमा हालसम्म २४ इजरायली नागरिक मारिएका छन। यसैबीच, वासिङ्टनस्थित एक मानव अधिकार समूहले इरानमा मृत्यु हुनेको संख्या ५८५ पुगेको र १,३२६ जना घाइते भएको दाबी गरेको छ।






